News

अब एसएलसी १२ पछि

अब एसएलसी १२ पछि
First meeting of the Legislature Parliament at the Constituent Assembly (CA) hall in Nayabaneshwor, Kathmandu on Sunday. 26 January, 2014. POST PHOTO: SANJOG MANANDHAR/KANTIPUR

काठमाडौं, जेठ २३ ।  शिक्षा ऐन संशोधन विधेयक झन्डै दश वर्षपछि संसद्बाट पारित भएको छ । लामो प्रयासपछि विधेयक पारित भएको हो । शिक्षा ऐन आठौँ संशोधन विधेयक पारित नहुँदा कतिपय शिक्षाका कार्यक्रमले कानुनी मान्यता पाएका थिएनन् भने अस्थायी शिक्षक लगायतका समस्या सम्बोधन हुन सकेको थिएन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शनिबार व्यवस्थापिका–संसद् बैठकमा शिक्षा ऐनको आठौँ संशोधन विधेयक पारित होस् भनी प्रस्ताव गरेका थिए ।

संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिबाट पारित भएको संशोधन विधेयकलाई संसद्ले सर्वसम्मतले पारित गरेको हो । विधेयक पारित भएसंगै अब कक्षा ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा एसएलसी कक्षा १२ पछि मात्र लिनेछ । अहिलेसम्म कक्षा १० पढेपछि एसएलसी परीक्षा लिने गरिएको थियो ।

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण प्रमाणपत्रको मान्यता प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरेसरह हुने ऐनमा उल्लेख छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले ऐनमा लालमोहर लागेपछि ऐन कार्यान्वयनको प्रक्रियामा जाने बताए । अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र बोर्डले परीक्षाको काम गर्ने उनले बताए । आवश्यक नियमावली बनाएर कार्यान्वयनमा जानेछ ।

राष्ट्रिय परीक्षा बोर्ड गठन ऐनले माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड रहने व्यवस्था गरेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र शिक्षा तथा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभवप्राप्त व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति ­अध्यक्ष रहनेछ । अध्यक्ष तथा सदस्यको कार्यकाल चार वर्षको हुनेछ ।

Education In Nepal

विशेष