News

एनजिओले ६ हजार भूकम्पपीडितका घर बनाउने

एनजिओले ६ हजार भूकम्पपीडितका घर बनाउने

NRA-555x278 काठमाडौं जेठ २३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका ६ हजार घर बनाउने जिम्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एनजीओ तथा आईएनजीओ लाई दिएको छ । एनजीओ र आईएनजीओले १२ अर्ब २८ करोड १८ लाख ७७ हजार नौ सय ८१ रुपैयाँमा ६ हजार सात सय ५९ वटा निजी आवास, एक सय ३३ वटा विद्यालय र दुईवटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने जिम्मेवारी पाएका छन् । आफूसमक्ष पेस भएका २७ वटा संस्थाका परियोजना प्रस्तावलाई स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले असमानतापूर्वक राहत वितरण गरेको आरोप लगाउँदै एकद्वार प्रणालीबाट पुनर्निर्माण थाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो । प्राधिकरणका अनुसार नेपाल रेडक्रसले सात अर्ब ३७ करोड ९४ लाख दुई हजार ९० रुपैयाँमा १६ जिल्लामा ६ हजार घर निर्माण गर्नेछ ।

रेडक्रसले गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, धादिङ, रसुवा, सिन्धुली, ओखलढुंगा, मकवानपुर, काभ्रे, तनहुँ र लमजुङमा ६ हजार घर बनाउँदा औसतमा एउटा घरको खर्च १२ लाख २९ हजार नौ सय रुपैयाँ गर्ने देखिन्छ ।

सरकारले निजी घर निर्माणका लागि तीन चरणमा दुई लाख रुपैयाँ र तीन लाख रुपैयाँ निब्र्याजी ऋण दिने प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय तथ्यांक विभागले लगत संकलन नगरेका जिल्लामा पनि रेडक्रस र अन्य एनजीओ तथा आईएनजीओले निजी घर निर्माण गर्न राखेको प्रस्तावलाई प्राधिकरणले स्वीकृत गरिदिएको छ ।

Nra Nepal

विशेष