वातावरण संरक्षण र विकासलाई सँगसँगै लैजानु पर्छ - प्रधानमन्त्री अाेली
काठमाडौँ, २३ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताएका छन । । विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बाेल्दै वातावरणीय पक्षको अध्ययन गरेर मात्र विकासका कामलाई अघि बढाउनुपर्ने धारणा राखेका छन ।
सरकारसँगै जनताले पनि सचेत भएर वातावरण संरक्षणका गतिविधिमा लाग्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्री ओलीले भने “संरक्षणका हाम्रा प्रयासहरु खेर नगए पनि पर्याप्त छैनन् ।” कार्बन उत्सर्जन र पृथ्वीको तापमान वृद्धि गरिब मुलुकका जनताले चुलोमा दाउरा बालेर नभई विकसित देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन तथा गतिविधिका कारण भएको कुरा जिकीर गरे ।
सामुद्रिक प्रदूषण र हिउँ पग्लिने समस्याका कारण समुद्री तटमा बस्ने जनता बढी मारमा परेको बताउँदै प्रधानमन्त्री ओलीले भने“वनस्पति र जीव भएको यो सुन्दर ग्रह पुथ्वी भविष्यमा जीवनरहित नहोस् भन्नेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ ।
कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै उक्त कार्य भएको÷नभएको बारेमा अनुगमनसमेत गर्दै आएको जानकारी दिने बताए ।
वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण संरक्षणलाई दिवससँग मात्र नजोडेर दैनिक जीवनसँग गाँसेर हेर्नुपर्ने धारणा राखे । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका निमित्त नेपाल निर्देशक सोफी केम्खाद्जे र त्रिभुवन विश्वविद्यालयका प्रा डा रामप्रसाद चौधरीले वातावरण संरक्षणका लागि गर्नुपर्ने काम र जलवायु परिवर्तनबाट हुने नकारात्मक असरबारे जानकारी दिएका थिए ।
कार्यक्रममा वातावरण संरक्षणमा योगदान पुर्याउने व्यक्ति र सङ्घसंस्थालाई पुरस्कृत गरिएको थियो । राष्ट्र सङ्घको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवसका रुपमा मनाइँदै आइएको छ ।
World Environment Day