भारत र अमेरिकाबारे एकैदिन एमालेका दुई विज्ञप्ति
बिहान केन्द्रीय सचिवालयका तर्फबाट सचिव प्रदीप ज्ञवाली र दिउँसो स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै सरकारलाई भारत र अमेरिकाको साथ र भरोसा रहेको दाबी गरेका छन्
एमालेले एकैदिन दुईवटा विज्ञप्ति निकालेर मित्रराष्ट्रहरूप्रति सरकार र पार्टीको कुनै नकारात्मक दृष्टिकोण नरहेको जनाएको छ । केही समयअघि देखापरेका असहज परिस्थिति पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम सुरु भएको दाबी एमालेको छ ।
एमालेले आइतबार बिहान केन्द्रीय सचिवालयका तर्फबाट र स्थायी समितिको बैठकपछि साँझ प्रचार विभागका तर्फबाट छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको हो । प्रधानमन्त्री केपी ओलीले ‘सरकार र आफ्नो पार्टीविरुद्ध मित्रराष्ट्र सक्रिय रहेको’ नबोलेको भए पनि मिडियामा भारत र अमेरिकाको नाम जोडिएको भन्दै एमालेले आपत्ति जनाएको छ । वर्तमान सरकारलाई छिमेकी तथा मित्रराष्ट्रको पूर्ण साथ र समर्थन रहेको विश्वास एमालेको छ ।
देश अप्ठ्यारो स्थितिमा रहेका वेला निराधार कुरा आउँदा अन्तर्राष्ट्रिय जगत्मा भ्रम सिर्जना हुने एमालेले जनाएको छ । दुवै विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायमा भ्रम सिर्जना नगर्न आग्रह गरिएको छ ।
भारत र अमेरिकाको भरोसा प्राप्त छ
एमालेले वर्तमान सरकारलाई भारत र अमेरिका दुवैको साथ र भरोसा रहेको दाबी गरेको छ । ‘विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, पुनर्निर्माणमा व्यक्त उदारमना सहायता एवं संविधान कार्यान्वयनमा निरन्तर समर्थनले नेपाललाई कठिन समयमा पनि अगाडि बढ्ने भरोसा प्राप्त भएको छ,’ सचिव ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकार संविधाने कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि छिमेकी तथा सबै मित्रराष्ट्रबाट अझ फराकिलो साथ र सहयोग प्राप्त हुने विश्वासका साथ सहकार्यमा छ ।’
पार्टीको आन्तरिक जीवनसम्बन्धी छलफल
एमाले स्थायी समिति बैठकमा आइतबार एजेन्डाबारे छलफल भएन । छिमेकी र मित्रराष्ट्रसंगको सम्बन्धबारे बाहिर आएका विषयको खण्डनमा केन्द्रित भएकाले बैठकमा अरू एजेन्डामा छलफलको समय नभएको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘शनिबारको बैठकमा प्रधानमन्त्रीले बोलेको भन्दै आएका समाचार गलत भन्ने मात्रै चर्चा बैठकमा भयो । तिनै समाचारलाई खण्डन गर्नेबाहेक अरू एजेन्डामा बैठक प्रवेश नै गरेन ।’ उनले भने, ‘समाचार खण्डनमा केन्द्रित भएपछि समय पुगेन । अरू एजेन्डामा सोमबार मात्र छलफल गर्ने भन्ने भयो ।’ राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक जीवन, केन्द्रीय सल्लाहकार मनोनयन, अनुशासन, लेखा समितिमा मनोनयन, प्रदेश कमिटीमा छलफल गर्न सोमबार पनि बैठक बोलाइएको छ ।
‘मोदी अमेरिका जाने वेलामै षड्यन्त्र’
एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका जानै लाग्दा षड्यन्त्र भएको आरोप लगाएका छन् । पूर्ण रूपमा मित्रराष्ट्रविरुद्ध लागेको देखाउन खोज्नु पार्टी, सरकार र देशकै इज्जत ड्यामेज गराउनुभएको ओलीको भनाइ छ । ‘छलफल भएको विषय बाहिर जाँदा गोपनीयताको कुरा हुन्थ्यो । तर, निराधार बोल्दै नबोलेका विषय सुनियोजित रूपमा आए । यो षड्यन्त्र हो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिव प्रदीप ज्ञवालीले भने ।
एमालेले छानबिन गर्ने
सरकार र पार्टीविरुद्ध भारत र अमेरिका सक्रिय रहेको भन्ने खबर मिडियामा आएको विषयमा एमालेले आन्तरिक छानबिन गर्ने भएको छ । ‘कसले भन्यो, कहाँबाट गयो ?’ सूचना बाहिरबाट गयो वा भित्रैबाट दिइयो त्यसबारे आन्तरिक छानबिन गर्ने कुरा भएको छ,’ बैठकपछि सचिव योगेश भट्टराईले नयाँ पत्रिकासित भने ।
मित्रराष्ट्रसँगको सम्बन्धबारे बोलेर ओलीले बैठक टुंग्याए
स्थायी समितिको आइतबारको बैठकमा राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक जीवनसहितका चार एजेन्डामा छलफल गर्ने तयारी थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध षड्यन्त्रलाई मित्रराष्ट्रसँग जोडिएको भन्दै त्यसैको खण्डनमा बोलेर आइतबारको बैठक टुंग्याएका थिए । बैठक करिब एक घन्टा चलेको थियो । बैठकमा ओलीले आफूले अमेरिकाको विषयमा बोल्दै नबोले पनि मिडियामा आएको भन्दै खण्डन गरेका थिए । बैठकमा उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘हुँदै नभएको समाचार बाहिर आयो, यो राम्रो भएन । कुनै देशलाई इंगित गरेको हो ? अमेरिकाको त नामै लिएको थिइनँ ।’ उनले मित्रराष्ट्रहरुसंग सम्बन्ध राम्रो रहेको दाबीसमेत गरेका थिए । बैठकमा वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालले मित्रराष्ट्रविरुद्धका विषय बाहिर आउनु गलत भएको बताएका थिए ।
नयाा पत्रिकाबाट