मृत्युका समाचारबारे पत्रकारको बकपत्र
नारायण पौडेल
टेलिभिजन पत्रकारितामा लागेपछि केही मित्रहरु जीबनमा बडो नजिकबाट जोडिए । यो क्षेत्रमा नआएको भए सायद उनीहरुसंग कहिल्यै संगतपनि हुंने थिएन । त्यसैमध्येका एक हुन् निरजराज जोशी । हामीले एउटै टेलिभिजनबाट प्रशारण पत्रकारिता थालेका थियौं । शुरुमा हामीलाई एक महिने तालिम दिइएको थियो । सो तालिम जीबनमा अर्थपूर्ण रह्यो । हामी उमेरले युवा भएपनि सिकारु भएकाले शिशुझैं प्रस्तुत हुन्थ्यौं । हामीलाई भनिएको थियो, समाचार ब्रेक गर्नुपर्छ । ब्रेकिङको भोक सिवाय मानसपटलमा केही थिएन । जति ठूलो ब्रेकिङ उति ठूलो हैसियत भन्ने ध्याउन्नमा हामी थियौं । टेलिभिजन पत्रकारिताको शुरु गर्दा नगर्दै कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई सिकिस्त भए । उनको स्वाश्थ्य अवश्थाभन्दा ब्रेकिङ छुट्ने चिन्ताले सताउथ्यो । ब्रेकिङकै लागि म भट्टराईकी सहयोगी अमिता कपालीदेखि सुसारे अर्जुनसम्मको भाइ र मित्र बनेको थिए । खासमा म समाचारको सिकारी थिए । नर्भिक अस्पतालमा भर्ना गरिए भट्टराई । म भट्टराईलाई राखिएको क्याबिनको नजिकै राखिएका सक्कली बिरामीको नक्कली कुरुवासमेत भएर बसे । भट्टराईका शिष्य एंव कांग्रेस नेता रामहरि खतिवडा हिजोआजपनि भन्छन्, ‘भट्टराईप्रतिको तिम्रो लगावलाई मान्नैपर्छ ।’ भट्टराईको मृत्यु पछ्याउंदा पछ्याउंदै उनीप्रति म भित्रभित्रै सर्मपित भइसकेको रहेछु । यो अर्को पाटो हो । तर, मेरो खाश समर्पण ब्रेकिङमै थियो । ब्रेकिङ प्राप्त भयो । अफिसमा म बधाइको पात्र भए । यसरी खुट्किला पार गर्दै पत्रकारिता गरिएको हो भन्दा सायद कसैले अन्यथा लिनुहुनेछैन । टेलिभिजनमा प्रशिक्षण लिंदाका साथीसंग भिन्दै मोह थियो र छ । त्यसैले त्यतिबेलाका साथीसंग मित्रता सिबाह केही रहेन । कालान्तरमा सबैजसो साथी लाखापाखा लागे । निरजराज जोशी र म भने लामो समय एकै ठाऊंमा रह्यौं । एकदिन ऊ गोप्य कुरा छ भन्दै आयो । मुखपनि निन्याउंरो थियो । उसले बडो मुस्किल गरी भन्यो, ‘तिमीलाईमात्र भन्दैछु ।’ मन न हो केके न सोच्यो । दिन उमेरको हेर्दै रहरलाग्दो उसको व्यक्तित्वले उसलाई धोका दियो कि भन्ने लाग्यो । उ निकैबेरसम्म झोक्राएर बस्यो । अनायशै उसले भन्यो, ‘दाइको एक्सिडेन्ट भयो । सायद रहनुहुन्न ।’ म त छांगाबाट खसेजस्तो भए । बिदेश गएको डेड दुई महिनापनि भएको थिएन । हामीभन्दा पहिले टेलिभिजनमा काम गर्नुभएको थियो । पत्रकारिताबाट पार लाग्दैन भन्ने निष्कर्ष थियो उहांको । भिन्दै टेलिभिजनमा भएपनि रिपोटिङका क्रममा भेट भइरहन्थ्यो । बडो खुलस्त व्यवहार थियो । उहां आफ्नै पारामा भन्नुहुन्थ्यो, ‘तिमीहरु दुबै सोझो छौं, गाहे छ टिक्न ।’ सिंहदरबारमा लामो कुराकानी भएको थियो । उहांले केही समयमा विदेश जान लागेको कुरा गर्नुभएको थियो । ‘पत्रकारलाई वैदेशिक रोजगारीमा जान पनि गाह्राे छ, समाचार आइहाल्छ, वैदेशिक रोजगारमा गयो भनेर’ उहां मज्जाले हास्नुभएको थियो । त्यो भेट अन्तिम रहेछ । मृत्युको सन्दर्भमा समबेदनासमेत व्यक्त गर्न गाह्रो लाग्छ मलाई । किरियापुत्रीलाई भेट्न जांदापनि नबोलि फर्कने गर्दछु प्राय । के भनेर बोल्ने ? महाशोकलाई शब्दमा कसरी व्यक्त गर्ने ? दकस लाग्छ । यो त झनै अफ्ठयारो परिश्थिति थियो । निकै बेर चुप रह्यौं दुबै । उसको हाउभाउबाट परिणाम दुःखद आइसकेको आभाष हुन्थ्यो । उसले घरब्यवहार मिलाउन लामो बिदा बस्नुपर्ने हुंदा आफ्नो जिम्मेवारीपनि मलाई लिन आग्रह गर्यो । यस्तोमा नाई भन्ने कुरै हुंदैन । उसले आफु बिदा बस्नु पर्नाको कारण कसैलाई नभन्न आग्रह ग-यो । ‘घरमा बुबाआमालाई थाहा छैन, अफिसमा भनेपछि बाहिर जान्छ । बाहिर गएपछि फेरी एक कान दुई कान मैदान हुन्छ । गाह्राे हुन्छ यार ।’ भक्कानो पार्दै उ बोलिरह्यो । परिश्थिति अति गम्भीर थियो । मैले उसलाई भने, ‘यस्तो नपर्नुपर्ने पीडा जो कसैलाई परेको हुनसक्छ । हामी अरुको समवेदना नबुझी लेखिहाल्छौ । अहिले आफुलाई पर्दा यतिधेरै संयमित हुन्छौं । कति निर्दयी छौं हामी ।’ उसले मुन्टोमात्र हल्लायो । झण्डै एक महिना उ टेलिभिजन आएन । बाहिरबाट हेर्दा यति लामो बिदा बिना अर्थजस्तो बसिरहेको देखिन्थ्यो । भित्र अथाह पीडा थियो । भर्खरकी छन् भाउजु । आरम्भ जन्मिएको पुगनपुग एकडेडवर्ष भएको थियो । कुनै बेलाका हस्ति नेता रंगनाथ जोशी वृद्धबयमा छन् । उनलाई भनियो, ‘छोरा बिरामी छन् । उपचार भइरहेको छ ।’ कम्युनिष्ट दर्शनले विभुषित उनले जान्ने भएपछि कहिल्यै मन्दिर टेकेका रहेनछन् । छोराको स्वाश्थ्यलाभका लागि उनी काठमाडौं आएर पशुपति गएछन् । तर केही लागेन । अर्को त्यस्तै घटना भयो । पोष्टबहादुर बोगटीलाई ब्रेन ह्यामरेज भएको थियो । छोरी प्रभा र हामी एउटै टेलिभिजनमा काम गर्ने भएकाले बोगटीले हामीलाई माया गर्नुहुन्थ्यो । उहां मन्त्री भइसक्नुभएको थियो । हामी बुढासंग मन्त्री हुंदा केही काम लिन सकिएन, प्रधानमन्त्री भएपछि लिनुपर्छ भनेर गफिन्थ्यौं । उनको इमान्दारीका अगाडि हामी व्यक्तिगत काम लिएर जाने हिम्मत गर्न सक्थयौं वा सक्दैनथ्यौं ? परीक्षण हुनै पाएन । नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखिएको थियो । नजिकैको प्रतिक्षालयमा प्रभा र प्रतिभा शोकमग्न थिए । जीबनसंगिनी राममायाको रुपरंग उडेको थियो । युद्धकालमा एकमात्र छोरा गुमाएकी उनीमाथि अर्को बज्रपात परेको थियो । भेन्टिलेटरमा उपचाररत बोगटीलाई एकैछिन हेरेर फर्किइदै गर्दा फेसबुकमा म्यासेज आयो,‘बोगटी बितेका हुन् ?’ परिचितलाई मैले जवाफ फर्काए, ‘नो’ । मेरो नोले उनलाई चित्त बुझाएन । मैले उनलाई प्रतिउत्तर गर्न आवश्यक ठानिन । बाहिर आउंदा नआउंदै थाहा भयो, माओवादी नेताहरुले नै समबेदना व्यक्त गर्दै स्टाटस हाल्न थालेपछि नमर्दै बोगटी आमरुपमा मरिसकेका रहेछन् । पत्रकार एंव मेरा घनिष्ठ यि दुई मित्रको परिवारमा परेको पीडापछि पत्रकारिताभन्दा ठूलो मानविय संवेदना हो भन्ने गहिरो छाप मलाई प-यो । मृत्युको समाचार बनाउन हामी हतारिन्छौं । हवाइ दुर्घटनामा मर्दै नमरेकी एअर होष्टेसलाई हामीले ब्रेकिङमा मारिदिन्छौं । गाडी दुर्घटना हुंदाका घटनालाई सनसनीपूर्ण बनाउंछौं । सो समाचार पीडित पक्षले पनि हेरेको छ भन्ने सायदै हामी अनुभुति गर्छौ । पुष्टि नभइसकेको मृत्युलाई पत्रकारले स्वविवेकले पुष्टि गरिदिन्छौं । तर, त्यस्तै घटना आफ्नोमा पर्दा के गर्छौ ? अम्बर गुरुङको सन्दर्भमा हाम्रो हतारो मानसपटलमा यक्ष प्रश्न बनेर घुमिरहेको छ ।