News

३१ वर्ष लाग्याे अदालतको फैसला कार्यान्वयन हुन

३१ वर्ष लाग्याे अदालतको फैसला कार्यान्वयन हुन
दीपबहादुर घर्ती  जाजरकोट, २४ जेठ । जाजरकोट जिल्ला अदालतको फैसला ३१ वर्ष पछि कार्यन्वयन भएको छ । अदालतको फैसलाका दोषीलाई ३१ वर्ष पछि पक्राउ गरी तोकिएको कैद सजाय दिन थालेपछि ३१ वर्षपछि फैसला कार्यन्वयन भएको हो । lok-adalat जिल्ला अदालत जाजरकोटले २०४१ साल माघ २३ गते गरेको फैसलाका दोषी भेरीमालिका नगरपालीका २ डिङ्गाका टेकबहादुर थापालाई यही जेठ २१ गते पक्राउ गरी कैद सजायमा ल्याईएको जिल्ला अदालत जाजारकोटले जनाएको छ । दोसी थापालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटवाट प्रहरी साहयक निरिक्षक महेश प्रशाद पन्त र नरबहादुर कार्कीको कमाण्डमा गएको प्रहरी टोलीले जेठ २१ गते पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरिक्षक दान बहादुर मल्लले वताए । साविकको खलंगा गाविस वडानं. ३ काजीवाराका तप्तबहादुर कार्कीले २०३० साल माघ १३ गते टेकबहादुर थापा विरुद्ध दर्ता गराएको मुद्धा २०४१ साल माघ २३ गते फैसला भएको जिल्ला अदालत जाजरकोटले जनाएको छ । थापा विरुद्ध कार्कीले २०३० सालमा ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गराएका थिए । तत्कालीन न्याय प्रर्णालीमा भएको व्यवस्था अनुसार झण्डै ११ वर्ष पछि फैसला भएको जिल्ला अदालतले जनाएको छ । २१ गते पक्राउ भएर कैद सजाए भोगी रहेका थापाले तत्कालिन अदालतको फैसला अनुसार १० वर्षको कैद सजाए भोग्नु पर्ने अदालतले जनाएको छ । थापाले २०८३ साल जेठ २० गते सम्म कैद सजाए भोग्नु पर्ने अदालतको भनाई छ । २०३९ सालमा ४२ वर्षिय टेकबहादुर थापा हाल ७६ वर्षको उम्मेरमा पुगेको अनुमान गरिएको छ । त्यसैगरी जिल्ला अदालतको आदेशले विभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएका तर कैद तथा जरिवाना भुक्तानी नगरि हाल सम्म फरार रहेका २० जना अभियुक्तलाई पक्राउ गरी कैद तथा जरिवाना अशुल गराउन जिल्ला अदालतमा वुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतको फैसला कार्यन्वयन विशेष प्रहरी टोली गठन गरी डेढ महिनाको समय अवधिमा २० जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नेपाल प्रहरीको सहयोगमा ३२ वर्ष ७ महिना ९३ दिनको कैद र ९८ हजार एक सय १० रुपैया ५० पैसा जरिवाना अशुल गर्न सफल भएको जिल्ला अदालत जाजरकोटले जनाएको छ । पक्राउ भएका २० जना अभियुक्त मध्य जिल्ला अदालतको आदेशले ९ जनालाई कैद सजाएको लागी कारागार बन्दी गृहमा पठाईएको छ भने, बाँकी ११ जना अभियुक्तवाट जरिवाना अशुल गराई छोडिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतको आदेशले कैद सजाएमा भोग्ने अभियुक्तहरुमा टेकबहादुर थापा, मानसिंह कामी, भीमबहादुर कामी, रङ्गजंग शाह, सिता डाँगी (शाह), ओम प्रकाश विक रहेका छन् भने, कैद तथा जरिवाना दुवै सजाय भोग्नेहरुमा दीपबहादुर वुढा, रामबहादुर शाही र टोप बहादुर चन्द रहेका छन् । त्यसैगरी अदालतमा जरिवाना अशुल गर्ने अभियुक्तहरुमा दिलबहादुर शाही, दीर्घबहादुर वुढा, टेकबहादुर शाही, साउने चनारा, चने चनारा, चन्द्रबहादुर चनारा, बहादुर राना, मानबहादुर मल्ल, सरस्वती वुढा, लालबहादुर शाही र मानवीर वुढा रहेका छन् ।

adalat jajarkot

विशेष