बेलायतले देखायो नेपालको संबिधानमा चासो
काठमाडौँ २६ जेठ
बेलायतले नयां संविधानको कार्यान्वयन र नेपालमा लगानीको वातावरणबारे चासो व्यक्त गरेको छ ।नेपाल भ्रमणमा रहेका बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र अन्तर्राष्ट्रिय विकास सहयोग नियोग, डिएफआइडीका सचिव मार्क लोककले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी संविधान र आर्थिक विकासबारे चासो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा मधेशवादी र आदिवासी जनजाति सम्बद्ध केही दलले गरिरहेको आन्दोलनका बारेमा पनि छलफल भएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताएका थिए ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमा बेलायती उच्च अधिकारी नेपाल आएका हुन् । त्यसैगरी संयुक्त राष्ट्र संघीयय मानवअधिकार उच्च आयुक्तको नेपालस्थित कार्यालयका प्रतिनिधि क्रिग स्याण्डर्सले पनि प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका छन । सो अवसरमा नेपालमा मानवअधिकारको पछिल्लो अवस्थाका बारेमा छलफल भएको जनाइएको छ ।