अम्बरको निधनमा आर्यघाट नगएका ओली कार्यकर्ताको बेलामा गए
जेठ - २७, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारीका बुबा जीवन प्रसाद भण्डारीको ६९ वर्षको उमेरमा आज निधन भएको छ । कलेजो रोगका पीडित भण्डारीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।
आफ्ना स्वकीय सचिवका बुबा तथा पार्टी कार्यकर्ताको पार्थिब शरीरमा पार्टीको झण्डा ओढाउन प्रधानमन्त्री ओली परिवारसहित आर्यघाट पुगेका थिए । उनी आर्यघाटमा लामै समय बसेका थिए । भण्डारीलाई श्रद्धान्जली दिन नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला पनि आर्यघाट पुगेका थिए । स्वर्गीय भण्डारीका १ छोरा र तीन छोरी छन् ।
तीन दिन अघि निधन भएका राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङलाई श्रद्धान्जली व्यक्त गर्न ओली आर्यघाट पुगेका थिएनन् । समाजिक संजालमा ओलीप्रति कटाक्ष गर्दै अम्बर पार्टीको कार्यकर्ता नभएकाले आर्यघाट नगएको टिप्पणी हुने गरेको थियो । उनले विज्ञप्तीमार्फत शोक र श्रद्धान्जली व्यक्त गरेका थिए ।
अम्बरलाई अवहेलना भएकै हो !
प्रधानमन्त्रीले राष्ट्रियगानका संगीतकार अम्बर गुरुङको अवहेलना गरेको टिप्पणीका बीच कार्यकर्तालाई श्रद्धान्जली व्यक्त गर्न उनी आर्यघाट पुगेका हुन् । खाशमा मंगलबार सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गएका थिए । काठमाडौं छाड्नु अघि नै अम्बर बितिसकेका थिए ।
उनी ग्राण्डी अस्पताल पुगेर विमानस्थल पुग्नपनि सक्थे । त्यस्तै कार्यक्रम छोट्याएर आर्यघाटमा श्रद्धान्जली व्यक्त गर्ने गरी फर्कन पनि सक्थे । उनले त्यसो गरेनन् । बरु संगीतकार नै मरेको दिन राष्ट्रिय गीत गाएर प्रधानमन्त्रीको उपश्थितिमा विश्वविद्यालयको कार्यक्रम गरियो । यसलाई कतिपयले अम्बरलाई गरिएको अवहेलनाका रुपमा बुझेका छन् । ओली समर्थकले भने यस्तो बहशलाई निरर्थक भनेका छन् ।
ambar gurung
KP Sharma Oli