अर्थ News

भूकम्प पीडितलाई १ लाख ७१ हजार अनुदान बाँड्ने

भूकम्प पीडितलाई १ लाख ७१ हजार अनुदान बाँड्ने
जेठ – २७, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ भूकम्पपीडित परिवारहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने भएको छ । Money अनुदान वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई प्राधिकरणले निर्देशन दिएको छ । उक्त रकम बैंकमार्फत वितरण हुने छ । नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग जेठ १४ गते भएको समझदारी पत्रअनुसार प्राधिकरणले स्थानीय स्तरमा जिल्ला विकास समितिमार्फत अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो । प्राधिकरण र तीन वटा बैंकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ । अनुदान रकम वितरणका लागि प्राधिकरणले स्थानीय विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ । इकाईकाअनुसार गत चैत्र २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । इकाईमार्फत विभिन्न जिल्ला विकास समितिहरुलाई गत वैशाख २६ गते रकम निकासा भएको जनाएको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएको थियो । त्यस मध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परेको छ ।

Anudan Bhukampa

विशेष