भूकम्पपीडित १ लाख ७१ हजार घरधनीलाई अनुदान रकम दिन पुनःनिर्माण प्राधिकरणको निर्देशन
काठमाडौं, जेठ २८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत् वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई विहीबार निर्देशन दिएको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
‘प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारीअनुसार इकाइलाई जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकसँग समन्वय गरी अनुदान वितरणको काम अघि बढाउन निर्देशन दिएको हो ।
प्राधिकरण र तीनओटा बैंकर्स एसोसिएसनबीच भएको सम्झौताअनुसार अनुदान रकम वितरणका लागि ५३ बैंकसँग सम्झौता भएको उनले बताए । अनुदान वितरणका लागि प्राधिकरणले मन्त्रालयको कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४४ करोड ६८ हजार निकासा गरेको छ ।
Nra Nepal