News

ठेक्का सम्झौता गरी काम नगर्ने कम्पनी कारबाहीमा

ठेक्का सम्झौता गरी काम नगर्ने कम्पनी कारबाहीमा

जेठ – २८, ठेक्का सम्झौता गरेर पनि समयमा योजनाका काम सम्पन्न नगर्ने भवन निर्माण कम्पनीमाथि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले कारबाही गरेको छ ।

चालु आव २०७२/७३ को हालसम्ममा सिरहा र सप्तरीका तीन÷तीन वटा र उदयपुरका दुई वटा भवन निर्माण कम्पनीमाथि कारबाही गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीका प्रमुख मिलन आचार्यले जानकारी दिए । सम्झौता गरी लामो समयसम्म काम पूरा नगर्ने पप्पु कन्स्ट्रक्सन प्रालि, रामजानकी निर्माण सेवा, विशाल एण्ड विराट कम्पनी प्रालि, दिवा निर्माण सेवा प्रालि, विशाल एण्ड विराट कन्स्ट्रक्सन प्रालि, कन्काई/नेपाल प्रगति जेभी र शिवा कन्स्ट्रक्सन प्रालिलगायतलाई कार्यालयले सम्झौता रकमको १० प्रतिशत जरिवाना तिराएको छ । “काम पूरा नगर्ने कम्पनीबाट रु ८४ लाख जरिवाना तिराएका छौँ,” कार्यालय प्रमुख आचार्यले भने ।

बीचमै काम रोकेपछि सिरहा र सप्तरीका आधा दर्जनभन्दा बढी स्वास्थ्य चौकी भवनको निर्माण कार्य अधुरै छ । त्यस्तै सप्तरीको फत्तेपुर र पिप्रा उप–स्वास्थ्य चौकी भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण कार्य अधुरै रहेको छ । पहिलो चरणमा चेतावनीस्वरुप जरिवाना तिराएको बताउँदै प्रमुख आचार्यले कतिपय भवन निर्माण योजनाका ठेकेदारहरु सम्पर्कमा समेत नआएकाले त्यस्ता कम्पनीलाई कालोसूचीमा राखिने बताए । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीले सिरहा, सप्तरी र उदयपुरमा भवन निर्माणसम्बन्धी काम गर्दै आएको छ । रासस

Bikash thada Bhawan Nirman division Papu Construction Saptari

विशेष