News

करिष्मा नपत्याउने गरी नेता बन्ने बाबुरामको दाबी, पार्टी घोषणाको तयारी पूरा

करिष्मा नपत्याउने गरी नेता बन्ने बाबुरामको दाबी, पार्टी घोषणाको तयारी पूरा
baburam-karisma जेठ – २९, नयां शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले नायिका करिष्मा मानन्धर भविष्यमा ठूलो नेता बन्ने दाबी गरेका छन् । शुक्रबार केही संचारकर्मीसंग अन्तरंग संवादमा केही घण्टा बिताएका भट्टराई फरासिलो पारामा प्रस्तुत भएका थिए । उनलाई संचारकर्मीले नयांशक्तिमा अनेकथरी मान्छे जम्मा गरिएको र गैरराजनीतिक व्यक्ति हावि भएको स्थितिमा कसरी संगठन बन्छ भनि प्रश्न गरेका थिए । उनले सोको जवाफ दिंदै करिष्माको उदाहरण दिएका थिए । भट्टराईले भने,‘तपाईहरुलाई विश्वास लाग्दैन होला, करिष्माजीमा भिन्दै खुबी रहेछ । बडो गहन विषयवस्तु राख्नुहुन्छ । उहां चांडै यो देशको नेता बन्नुहुनेछ ।’ भट्टराईले परम्परागत शैलीका व्यक्तिभन्दा अरुले राजनीति राम्रोसंग गर्नसक्ने भट्टराईले अनुभव सुनाए । उनले सबै क्षेत्रका राम्रा मान्छेलाई खोजि खोजि आफुले नयां शक्तिमा ल्याउने प्रयास गरेको बताए । ‘महिलालाई विशेष प्रथामिकता छ । राम्रो देख्योकि ल्याएर राखीहाल्ने भन्ने लाइराछ ।’ भट्टराईले यसो भन्दा हलमा हांसो छायो । उनले पद्धतिबाट नेता खोज्न थालियो भने महिलालाई माथि आउन धेरै समय लाग्ने भएकाले नयां शक्ति लचिलो भएको स्पष्ट गरे । पचास गुट होस्, खुलस्त छलफल होस् नयांशक्तिमा अनेकथरी गुट भइसकेको संचारकर्मीको प्रश्नमा उनले जति बढी गुट उति बढी छलफल भन्दै आफ्नो अभियानको बचाउ गरेका थिए । विभिन्न क्षेत्रका मानिसहरु शुरुमा जम्मा हुंदा गुटजस्तो देखिएपनि बिचार माझिदै जांदा ठीक ठाउंमा पुगिने उनको भनाइ थियो । आफुले जानिबुझी सचिवालयमा गैरमाओवादी पृष्ठभुमीकालाई बहुमतमा राखेको दाबी गरे । गैरमाओवादी पृष्ठभूमीका मानिसहरुको बहुमत हुंदा बहश खुलेयाम हुने गरेको उनले जनाए । राष्ट्रिय एकता कमजोर पार्नेहरुको चुरीफुरी बढी भट्टराईले राष्ट्रिय एकता कमजोर पार्नेहरु राष्ट्रवादीजस्तो देखिनु बिडम्बना रहेको बताए । संचारमाध्यममा गहनरुपमा छलफल हुन नसक्दा राष्ट्रिय एकता कमजोर पार्नेहरु हाबी भएको गुनासो गरे । उनले खशआर्य, जनजाति र मधेशी तीनवटा समुदायको एकताबिना मुलुक बन्न नसक्ने प्रष्ट गरे । दुई समुदायलाई चिढाएर एकतामा खलबल पारिएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका थिए । उनले ओलीले प्रष्टरुपमा संघीयताको विरोध गर्ने गरेकाले ओलीमा स्पष्टता रहेको र संविधान निर्माणमा उनी हाबि भएको बताएका थिए । भट्टराईले भने,‘कमसेकम ओलीजी प्रष्टै भन्छन् संघीयता चाहिदैन, अरु त संघीयता भन्नपनि नछाड्ने मर्मपनि नबुझ्ने भएर गाह्रो भयो ।’ प्रचण्डसंगको सम्बन्ध ‘तपाईहरुले विश्वास नगर्नुहोला, प्रचण्डजीसंगको व्यक्तिगत सम्बन्ध उस्तै राम्रो छ । राजनीतिकरुपमा मात्र हामी अलग भएका हौं ।’ व्यक्तिगत सम्बन्ध प्रष्टाउंदै भट्टराईले भने, ‘पूरानो शैलीले समस्याको निकास र देशको विकास नहुने भएकाले मैले बेग्लै बाटो रोजेको हुं ।’ उनले प्रचण्ड संविधान निर्माणको उत्तरार्धमा सबै गुमाउन तयार भएको पनि आरोप लगाए । नयां शक्तिको भविष्य नयांशक्तिका संयोजक भट्टराईले आफ्नो पार्टीले देशको नेतृत्व लिन समय नलाग्ने दाबीपनि गरे । एमालेबाहेकका अरु पार्टीसंग विधि र संगठनपनि नभएको उनको निष्कर्ष थियो । एमालेपनि एनजिओ र कर्मचारीतन्त्रजस्तो भएको तथा बिचार र व्यवहारमा तालमेल नमिलेकाले भविश्य सुरक्षित नभएको भन्ने उनको टिप्पणी थियो । माक्र्सवादी लेलिनवादीपनि भन्न नछाड्ने, व्यवहारमा अर्को हुंदै जाने परिश्थितिले एमालेलाई अफ्ठयारो ठाऊंमा पु-याउने उनको प्रक्षेपण थियो । उनले नयांशैलीमा नयां ढंगले आउन लागेको आफ्नो पार्टी नै देशको असली शक्ति हुंने विभिन्न आधार प्रस्तुत गरेका थिए । ६० कांटेपछि तन्नेरी भएका बाबुराम ६० काटेपछि मान्छे भिन्दै चरणमा पुग्ने र उसमा फेरी युवावय शुरु हुने एउटा भनाइ उनले आफ्नो जोशका सन्र्दभमा स्मरण गरे । हसिलो मुद्रामा प्रस्तुत भएका भट्टराईलाई सोको राजका बारेमा पत्रकारले प्रश्न गरेका थिए । उनले आफ्नो दृष्टिकोण प्रष्ट भएको तथा उमेरका कारणपनि फुर्तिलो देखिएको जवाफ फर्काएका थिए । उनले आफ्नो पार्टी बामलोकतान्त्रिक बन्ने प्रष्ट गर्दै विचारको संश्लेषण हुंने क्रम जारी रहेको जनाए । छलफलबाट हामी निचोडमा पुग्न बांकी रहेपनि तत्कालका लागि बामलोकतान्त्रिक शब्द उपयुक्त हुने उनको भनाइ थियो । पार्टी घोषणा तयारी पूरा नयांशक्तिले ३० गते गर्ने पार्टी घोषणा उदाहरणीय बन्ने दाबी गरेको छ । नयाँ शक्तिका अभियन्ता गंगानारायण श्रेष्ठका अनुसार आइतबार ट्राफिकको व्यवस्था पनि चुस्त रहने गरी डेड लाख सदस्य रंगशाला पुग्ने छन् । उनले १४ वटा समितिको तयारी पूरा भएको बताए । नयाँ शक्ति ने ट्राफिक जाम नहुने गरी उपत्यकाको ४ ठांउ बिजुलीबजार, कालीमाटी र रत्नपार्कबाट जुलुस निकाल्ने बताएको छ । आर्थिक अवस्थाको बारेमा पार्टीको आधिकारीरिक घोषणा संगै आफ्नो वेभ पेजमा सार्वजनिक गर्ने उनले जनाए । बाहिर प्रचार गरिएजस्तो खर्च नभएको उनको दाबी छ । कार्यक्रममा विदेशी पाहुनासमेत आउने बताइएको छ । नयांशक्तिले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि घोषणासभामा उपस्थित हुने विश्वास व्यक्त गरेको छ । भट्टराईले शुक्रबार संचारकर्मीसंग हास्दै भनेका थिए, ‘प्रचण्डजीलाई म जोड गरेर भएपनि बोलाउंछु । नयां संस्कारको शुरुवात गर्नपर्छ ।’ (शुक्रबार संचारकर्मीसंग डाक्टर भट्टराईले अफ द रेकर्डका लागि भन्दै कतिपय विषयमा बोलेका थिए । सो प्रसंग यहां समाबेश छैन–सम्पादक )

dr.baburam bhatrai Karishma Manandhar Nayashakti

विशेष