News

सत्यनिरुपणमा उजुरीको चाङ

सत्यनिरुपणमा उजुरीको चाङ

truth

असार १ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितका उजुरीको चाङै लागेको छ । उजुरी दिने म्याद असार २ दुई दिन मात्र बाँकी रहँदा आयोगको बबरमहलस्थित कार्यालयमा सोमबार एकैदिन २ हजार ६ सय २८ उजुरी दर्ता भएका छन् । मैना सुनुवार हत्याकाण्ड र मुक्तिनाथ अधिकारी हत्या प्रकरणका पीडित परिवारले पनि सोमबारै उजरी दर्ता गराएका छन् । जिल्लास्थित विभिन्न शान्ति समितिमार्फत लिइएका उजुरीसमेत गरी अहिलेसम्म ३० हजार ७ सय ४४ वटा उजुरी दर्ता भएको आयोगले जानकारी दिएको छ ।

माओवादी सशस्त्र द्वन्द्वकालका घटना छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन एवं पीडित परिवारलाई क्षतिपूर्ति भराउन सरकारले सत्यनिरुपण आयोग बनाएको हो । आयोगले उजुरीमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । माओवादी पक्षबाट गराइएको शिक्षक मुक्तिनाथ अधिकारी हत्या र राज्यपक्ष (सेना) बाट गराइएको मैना सुनुवार हत्या प्रकरणसमेत आयोगका अनुसन्धान दायरामा आएका छन् । माओवादी सशस्त्र लडाकुले शिक्षक अधिकारीलाई कक्षाकोठाबाटै कब्जा गरी केही माथि लगेर रुखमा बाँधी गोली हानेका थिए ।

चन्दा नदिएको झोंकमा सुराकीको आक्षेप लगाउँदै अधिकारीमाथि छुरासमेत धसेर निर्मम हत्या गरेका थिए । मैनालाई सेनाले उनको घरैबाट नियन्त्रणमा लिई बेपत्ता बनाएको थियो । पछि उनको शव गाडिएको अवस्थामा फेला परेको थियो । मुक्तिनाथ र मैनालगायतका द्वन्द्वपीडित परिवारले साझा चौतारी बनाएर न्यायका लागि लडिरहेका छन् । उजुरी दर्तापछि मंगलबार उनीहरूले आयोग पदाधिकारीसँग छलफल गरे । ’राज्यले बनाएको आयोग हो, त्यसैले सकेजति सहयोग गर्छौैं,’ देवीले भनिन, ’कस्तो खालको न्याय दिन्छ, हेर्न बाँकी छ ।’ आयोग सदस्य माधवी भट्टले न्याय पाउनेमा आश्वस्त हुन पीडित परिवारलाई आग्रह गरिन् । ’आयोगले काम गरिरहेको छ,’ उनले भनिन, ’सबै घटना छानबिन गरी न्यायका लागि पहल गर्छौं ।’

अहिले राज्यकै तर्फबाट द्वन्द्वकालीन घटनामा उजुरी माग गरिएपछि परिवारमा केही आशा जागेको छ । अधिकारी पत्नी इन्दिरा र छोराछोरी मंगलबार आयोग कार्यालय पुगेर उजुरी दर्ता गरेका थिए । पश्चिमाञ्चलबाट १४९१ नम्बरमा दर्ता निवेदनमा अधिकारीलाई अपहरण, शारीरिक, मानसिक यातनापछि हत्या गरिएको बेहोरा उल्लेख छ । उजुरीकर्तामा पत्नी इन्दिरा, छोरा सुमन र छोरी सुनीताको नाम छ ।

नागरिक दैनिक

truth reconciliation commission nepal

विशेष