नौ वर्षदेखि बेपत्ता पतिको खोजीमा इलामकी माया
इलाम, १ असार । “लोग्ने बेपत्ता भएपछि आफू घरको न घाटको भएको छु । छोराछोरीले हाम्रो बाबा खोइ, कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छ।” इलाम शान्तिपुर–३ की माया भट्टराईले मलिन स्वरमा भनिन् “न राज्यले कुनै सहयोग दियो, न त घर परिवारबाट शान्ति नै मिल्यो ।”
सुत्केरीको प्रश्रव पीडामा अस्पतालको श्ययामा छटपटाइरहेको बेला अस्पतालबाटै श्रीमान् बेपत्ता भएको खबरले मायाको भक्कानो फुटेको थियो । चन्द्रकान्त भट्टराई (माया भट्टराईका ससुरा) लाई २०५८ सालमा तत्कालीन विद्रोही पक्षले हत्या गरेपछि उनका छोरा लोकेन्द्र भट्टराई (पीडित माया भट्टराईका श्रीमानले) बाबुको विरासतलाई कायम राख्न राजनीति क्षेत्रमा लागे ।
बाबुको हत्यापछि उनले पनि राप्रपाकै राजनीति थालेपछि विद्रोही पक्षले उसबेला पटकपटक ज्यान मार्ने धम्की दिइरहेको मायाले बताइन तर २०६३ मङ्सिर ५ गते सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सम्झौता भयो ।
गर्भवती श्रीमती मायालाई लिएर धरानको बिपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका लोकेन्द्र श्ययामा प्रश्रव पीडामा छटपाएकी बिरामी श्रीमतीलाई औषधि किन्न आएको समयमा अस्पतालबाटै २०६४ वैशाख ७ गते एकाएक बेपत्ता भएपछि अहिले उनले श्रीमती माया र तीन छोराछोरी श्रीमान् र बाबु आउने आशमा अझै छन् ।
शान्ति सम्झौता भएको १२ वर्ष बित्दा पनि पीडित मायाले भने अहिलेसम्म राज्यबाट कुनै पनि सुविधा पाएकी छैनन् । श्रीमान् बेपत्ता भएको ११ वर्ष बितिसकेको छ । तर उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । “उहाँ बेपत्ता भएपछि मैले धेरै खोजतलास गरे” बेपत्ता छानबिन आयोगका प्रवक्ता डा विष्णु पाठकसँग पीडा सुनाउँदै उहाँले ११ वर्ष बितिसक्यो, तर न त श्रीमान्को सास पाइयो, न लास ।
तर पीडित माया भट्टराईले अहिलेसम्म द्वन्द्वपीडितको नाममा पाउनुपर्ने राहत केही पनि नपाएको उनले बताइन । बेपत्ता भएका श्रीमान्लाई हाल आएर बेपत्ताको सूचीमा नराखेपछि आफू सबै क्षेत्रबाट पीडित बनेको उनको दुःखेसो छ ।
ससुराको हत्या अनि श्रीमान् बेपत्ता भएपछि आफू छोराछोरी लिएर इलाम सदरमुकाममा विस्थापित भएको र हालसम्म कोठा भाडामा लिएर बस्दै आएको पीडित भट्टराईको दुखेसो छ । बेपत्ता पारिएका व्यक्तिका परिवारजनले पनि भट्टराईको जस्तो पीडा सुनाएका छन् ।
फाकफोक–१ का टठबहादुर निरौलाले पनि १२ वर्षदेखि बेपत्ता आफ्नो भाइको बारेमा कुरा कोट्याए । २०६० असार ४ गतेदेखि भाइलाई काठमाडौँबाट राज्य पक्षले पक्राउ गरेर हालसम्म बेपत्ता बनाएको बताए।
भैरवनाथ गणमा रहेको पहिले एकपटक सुन्न आए पनि हालसम्म उसको बारेमा अत्तोपत्तो नभएको निरौलाको भनाइ छ । “यतिका वर्ष बितिसक्यो, तर अहिलेसम्म कुनै जानकारी दिइएको छैन” निरौलाले भने, “मारिसकेको भए हामीलाई जानकारी गराइदिए धार्मिक विधिअनुसार अन्त्येष्टि त गथ्र्यौं ।”
बेपत्ता परिवारका आफन्तले शान्ति प्रक्रिया पूरा भइसक्दा पनि आफूहरूले न्याय नपाएको गुनासो गरे । “हामी त घटना बिर्सिएर आ–आफ्नो कामधाममा लागिरहेका हुन्छौँ, तर हरेकका बहानामा बेपत्ताका परिवारलाई बोलाएर फारम भर्न लगाएर पुनः घाउमा नुनचुक छर्कने काम मात्र भइरहेको छ” पीडित डिल्लीराम राईले सुनाए । पुवामझुवा–८ का राईका भाई अगमसिंह राई २०६१ सालदेखि मावु गाविसबाट बेपत्ता भएका हुन् ।
वैदेशिक रोजगारीका लागि भिसा बनाएर विदेश जान लागेका उनलाई तत्कालीन विद्रोही पक्षले मावु गाविसबाट बेपत्ता बनाएको परिवारिक स्रोतले बताएको छ । आयोगले जिल्लास्तरमा बेपत्ताका परिवारसँग अन्तक्रिया गरेको हो । इलाममा द्वन्द्वकालमा १७ जना बेपत्ता पारिएको स्थानीय शान्ति समितिको तथ्याङ्कमा रहेको समितिका सचिव डीकेन्द्र इदिङ्गोले बताए ।
आयोगका प्रवक्ता पाठकले पीडितलाई न्याय दिलाउन दोषीलाई कठघरामा उभ्याउने बताउनुभयो । तर आयोगलाई हरेक क्षेत्रबाट काम गर्न नदिने षडयन्त्र भइरहेकाले आयोगलाई निष्पक्ष रूपमा काम गर्न दिनुपर्नेमा उनले जाेड दिए । रासस
bepata aayog
ilam
Maya Bhattarai