News

कसले पाए राजनीतिक नियुक्ति ?

कसले पाए राजनीतिक नियुक्ति ?

kp sharma oli-rss

असार २ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् । त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ । माओवादीका ६ जना मात्रै माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । राप्रपा नेपालका पाँचजना सत्तासाझेदार तेस्रो ठूलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाएका छन् । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् । त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् ।

फोरम लोकतान्त्रिकका दुईजना मात्रै अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्त्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् । एमालेभित्र पनि संस्थापन हाबी राजनीतिक नियुक्तिमा पनि एमालेभित्र संस्थापन पक्ष हाबी देखिएको छ ।

केही समयअघि नियुक्त भएका प्रेस काउन्सिलका सदस्यमध्ये शुभेच्छा बिन्दु तुलाधार महासचिव ईश्वर पोखरेलको सिफारिसमा र गोविन्द चौलागाईं माधव नेपालको पक्षबाट सिफारिस भएर नियुक्त भएका हुन् । काउन्सिलकै अर्का सदस्य दीपक पाठक प्रधानमन्त्री ओलीकै दबाबमा नियुक्त भएका थिए । तर, उनको नियुक्ति विवादमा परेको छ । प्रधानमन्त्री ओलीनिकटहरू मात्रै सल्लाहकार समितिमा परेका छन् । राष्ट्रपतिको स्वकीय सचिवमा नियुक्त भेषराज अधिकारी ओलीनिकट मानिन्छन् ।

राजदूतका लागि सिफारिस गरिएकामध्ये अली अख्तर मिकरानी मात्रै माधव नेपाल समूहका हुन् । पहिला माधव नेपाल समूहमा भए पनि पछिल्ला दिनमा संस्थापन पक्षमा लागेका युवराज कार्की राजदूतमा सिफारिस भएका हुन् । महासचिव ईश्वर पोखरेलको नजिक रहेका खड्ग केसी जापानका लागि राजदूत सिफारिस भएका छन् । राजदूतमा सिफारिस भएकी शिवमाया तुम्बाहाम्फे राष्ट्रपति विद्या भण्डारीनिकट मानिन्छ । कर्मचारी सरुवा धेरै मन्त्रिपरिषद्ले गरेका नियुक्ति, सरुवा, बढुवाका निर्णयमध्ये अधिकांश सरकारी कर्मचारीको भएको छ । प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईको नियुक्तदेखि पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय प्रमुखसम्म कर्मचारीहरू नियुक्ति भएका छन् । सहसचिवको अन्तरमन्त्रालय सरुवा मन्त्रिपरिषदले निर्णय गर्ने गर्दछ ।

अहिलेसम्म ४७ जनालाई सरकारले यसरी सरुवा गरेको छ । ओली सरकारका नियुक्तिहरू प्रधानमन्त्रीका सल्लाहकार ११ जना ओलीले सल्लाहकार र विज्ञका रूपमा ११ जनालाई नियुक्त गरेका छन् । विष्णु रिमाललाई राजनीतिक, प्रमोद दाहाल प्रेस, डा. गोविन्द नेपाल आर्थिक, प्रकाशबहादुर बस्नेत सुरक्षा, वसन्तकुमार नेम्वाङ प्रशासनिक, अजयक्रान्ति शाक्य विज्ञान प्राविधिक तथा निरु पाल र देवेन्द्र दाहाललाई जनसम्पर्क सल्लाहकारका रूपमा नियुक्त गरिएको छ । त्यस्तै, गोपाल खनाललाई परराष्ट्र, ज्ञानेन्द्र शाक्यलाई राजनीतिक र चेतन अधिकारीलाई सञ्चार विज्ञको नियुक्ति दिइएको छ । राजदूतमा आठ कर्मचारी राजदूतका लागि सिफारिस भएका २२ मध्ये आठजना परराष्ट्र मन्त्रालयका कर्मचारी छन् ।

नयाँ पत्रिका दैनिक

KP Oli

विशेष