कार चढ्नेको विरोधमा लण्डनमा नाङ्गो साइकल यात्रा
असार २ । कार संस्कृतिको विरोधमा बेलायतमा सयौँले सडकमा नांगै साइकल गुडाएका छन् । शरीरमा विभिन्न रंगले पोतेका नग्न महिला तथा पुरुष सो र्यालीमा सहभागी भए । वातावरण प्रदूषणको मुख्य कारक मानिने कार विरोधी प्रदर्शनमा साइकलका कयौं पारखी सहभागी भए । विश्व नग्न साइकल यात्रा दिइएको सो विरोध प्रदर्शनमा किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म सहभागी भए ।
सन् २००४ देखि बर्सेनी आयोजना हुँदै आएको सो प्रदर्शनले साइकल चढ्दा हुने दुर्घटनबिरुद्ध खबरदारी गरिएको थियो । राजधानी लन्डनमा कार केन्द्रित सभ्यतालाई व्यंग्य गर्न सफल भएको आयोजकले बताए । गत महिना मात्र लन्डनमा कारको ठक्करबाट तीनजना साइकल यात्रु मारिएका थिए । साइकल यात्रुको मृत्युपछि कारविरुद्ध एक प्रकारको आक्रोश बढेको छ । प्रर्दशनी शान्तिपूर्ण भएको आयोजकले बताए । तेलमाथिको बढ्दो निर्भरता र कार संस्कृतिको विरोधमा प्रदर्शनी आयोजना गरिएको उनीहरुले बताए । साइकलको कुदाइले मानिसलाई स्फूर्ति दिने भन्दै कार त्यागेर साइकल चलाउन सहभागीले आह्वान गरे ।
सडकमा साइकल चालक जोखिममा परेको पनि सहभागीले बताए । शनिबार दिउँसो राजधानी लन्डनका विभिन्न स्थानबाट नग्न भएर साइकल चढेका सहभागी हाइदेपार्क कर्नरमा भेला भएका थिए । सहभागीले ६ वटा रुटबाट यात्रा तय गरेका थिए । हरेक रुट झन्डै नौ माइल दूरीको थियो । सहभागीले ‘तपाईंको बाटोमा अर्को साइकल’ ‘नांगो कच्चापन होइन’, लेखेका नारा शरीरमा लेखेका थिए । केही सहभागी आफ्नो शरीर विभिन्न रंगले पोतेका देखिन्थे, यसले एक प्रकारको पर्वको झल्को दिएको थियो ।
नंग्न भएर लन्डनका विभिन्न सडकमा साइकल चलाएका प्रदर्शनकारीलाई हेर्ने पैदल यात्रीको भीड हेर्न लायक देखिन्थ्यो । केही पैदल यात्रु तथा सवारी साधनका यात्रु प्रदर्शनकारीको तस्बिर र भिडियो लिन आतुर देखिन्थे ।
Nude Cycle Ride