खतरनाक बाटोमा अयोग्य लडाकु !
बाँके कोहलपुर नगरपालिका खर्कबाडाकी मनिषा खडका माओवादी लडाकुको छैठौँ डिभिजनमा थिइन् । घोराइ सतबररिया ब्रिगेड एक नं बटालीन बि कम्पनीमा रहंदा उनले हजार सपना सजाइएकी थिइन् । तर, उनी अयोग्यताको प्रमाणपत्र भिर्ने अभागी भइन् । अहिले घर न घाटको अवश्थामा पुगेको उनको अनुभव छ । जिउंदो लाश बोकेरे हिडेजस्तो भारी लाग्दछ उनलाई आफ्नै जीबन ।
अनिता परीयारलाई माओवादी युद्धमा पुर्णीमा नाममा चिनिन्थ्यो । नाम जे राखेपनि अनिताको जीबन औंशीमय छ । गाऊंघरमा अयोग्य भएर फर्केकी भनेर कुरा काटिरहन्छन् । अनिता गहभरि आंशु पार्दै वेदना सुनाउछिन्, ‘आफुहरुले लडेर गणतन्त्र ल्याइयो, गणतन्त्र आएपछि आफैं अयोग्य भइयो ।’
बाँके नौबस्ता २ की अनिता ‘अयोग्य कसरी भइंदोरहेछ ? योग्य हुन के गर्नुपर्दोरहेछ ?’ उत्तर खोजिरहेकी छन् । उनले उत्तर भेटेकी छैनन् । गणतन्त्र ल्याउन मृत्युयात्रा रोजेकाहरु अयोग्य भएको र गणतन्त्रको खिलाफमा दरबारमा बसेर निर्देशन दिनेहरु गणतन्त्रका सारथी भएको दृश्यले उनलाई सबैभन्दा बढी पोलेको छ ।
धादिङका राजन थापा अयोग्य घोषित भएपछि समाजमा घुलमिल हुनसमेत कठीनाइ भएको बताउंछन् । ‘हिजो देश परिवर्तन गर्ने भन्दै सबै छोडेर हिडियो तर रुझेको विरालोजस्तो भइयो ।’ उनी दुखेसो गर्दछन् ।
राज्यले अयोग्य घोषणा गर्यो । पार्टीले वेवास्ता गर्यो । समाजले हेयभावले हेर्यो । सबैतिरबाट घेराबन्दीमा परेको बताउने राजन अपमानबोधबाट ग्रस्त छन् ।
रमेश बस्याल र नमुना न्यौपानेका गुनाँसा उस्तै छन् । ‘अयोग्य नभनिएको भए जान्थ्यो ?’ उनीहरु प्रश्न गर्छन । पहिले अयोग्य भनिएका लडाकुलाई पछिबाट बर्हिगमित भनिन थालियो । तर, अयोग्य शब्द यसरी स्थापित भइदियो कि उनीहरुका लागि कलंकको टिका बन्यो । सुन्दर आगतका लागि विगतमा बन्दुक बोकेका रमेश वर्तमानदेखि वाक्कदिक्क छन् । देशलाई नमुनारुपी जनवादी राज्य बनाउंने भन्दै हौसिएकी नमुना जीबनकै अर्थ खोज्न विवश छिन् ।
लडाकुले सम्झने बिगत
अनिता अस्थायी ब्यारेकमा हुँदा साथीहरुसंग सामुहिक खाना खाएको झल्झल्ति सम्झिन्छिन् । सपनाको संसार थियो । तासको महल झैं गल्र्यामगुर्लुम भयो । उनलाई अहिलेपनि ति सपनाले मूर्तरुप लिने गरी नेताहरु किन अघि बढ्न सकेनन् भन्ने लागिरहन्छ,‘ सायद नेताहरुलाई गन्तव्य पहिलै थाहा थियो । हामीलाई भनिएको थिएन । नेताहरु त मोजमस्तीमै छन् । दुख त हामी अयोग्यले पाएका हौं ।’
हुम्ला मैला ६ का खडक रम्तेल नेपालगन्ज सिमराहको लडांइ जहिल्यै सम्झिरहन्छन् । आफ्नै आंखा अगाडि कमाण्डर आइटम गोली लागेपछि ढलेका थिए । कमाण्डर आइटमले आइटमआइटमका सपना बांड्थे । आफु मरेपनि दुनियां परिवर्तन हुंनेछ भन्थे । अहिले नेताको मात्र परिवर्तन भएको देख्दा खडकको मन पोल्ने गर्दछ । आइटम ढलेको क्षणको सन्दर्भको कुरा गर्दा उनको आंशु थामिएन ।
पर्बतका रमेश बश्यालको आंखामा बुटवलको लडाँइ नांचिरहन्छ । धादिङका राजनको मानसपटलमा कृष्णभीरको लडाइ घुमिरहन्छ । सो लडाइको कमाण्डर थिएः यामबहादुर अधिकारी प्रतीक्षा । अहिले प्रतीक्षा सेना समायोजनमार्फत कर्णेल छन् । उनिसंगको त्यतिबेलाको संगत उनी सम्झना लायक ठान्छन् ।
संघर्षको पाटो
अलगअलग ठाउंबाट अयोग्य भएका उनीहरु पहिले त छिरोलिएका थिए । विस्तारै एकअर्काको सम्पर्कमा आए । राज्यले अयोग्य लडाकु भनेपनि उनीहरुले बर्हिगमित जनमुक्ति सेनाका रुपमा आफुहरुलाई संगठित गर्ने प्रयास गरे । ६८ असारमा माओवादी पार्टी मुख्यालय घेराउ गरे । पूर्व लडाकुले आफ्नै पार्टी घेराउ गरेपछि सनसनीपूर्ण समाचार बन्यो । उनीहरुले माओवादी लडाकुका अस्थायी शिविरपनि घेराउ गरे । सेना समायोजन नभइसकेको सो सन्दर्भमा अयोग्य लडाकुको आन्दोलन संवेदनशील हुने देखियो । उनीहरुका माग सम्बोधन गर्न आयोग बनाइयो । आयोगले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने सिफारिश ग¥यो । सिफारिश कार्यान्वयन भएन । अयोग्य लडाकु झन्झन् संगठित हुंदै गए । अयोग्य बनाउनेलाई ठोक्नुपर्छ भन्ने आक्रोश पैदा भयो । बर्हिगमित जनमुक्ति सेनाका महासचिव राजन थापा भन्छन्, ‘अयोग्य भन्नेलाई ठोक्नुपर्छ भन्ने लाग्थ्यो । हामीले युएनका गाडी फुटायौं, माओवादी नेताका गाडीमा पनि ढुंगा हान्यौं । कुर्सी भाँच्यौं, नेपाल बन्द, उपत्यका बन्द, पूर्व–पश्चिम राजमार्ग बन्द जस्ता कार्यक्रम ग¥यौं ।’ हामीलाई अधिकार पाउनका लागि जाइलाग्नपर्छ भन्ने सिकाइएको र सोको व्यवहारिक अभ्यास गरेको राजन बताउंछन् ।
उनीहरु केही लाखका लागि लडेका थिएनन् । देशदुनियां परिवर्तन गर्नका लागि लडेका थिए । परिश्थिति एकाध बर्षमै नराम्रोसंग बदलियो । उनीहरुलाई नेताले भने,‘एउटा ढोकाबाट बाहिरिने हो । अर्को ढोकाबाट भित्रिने हो । जनयुद्ध लडेको कोहीपनि अयोग्य होइन ।’ होइन रहेछ । उनीहरु ठगिएको महशुश गर्दैछन् ।
हाम्रा कुरा नसुने फेरी बन्दुक बोक्छौँ
उनीहरुलाई ०६८ सालमा २ लाख दिने भनिएको थियो । दिइएन । ५ बर्षपछि सरकारले बजेट भाषणका क्रममा दिने भनेको छ, दिइसकेको छैन । त्यसयता उनीहरु धेरै अगाडि बढिसकेका छन् । ‘५ बर्ष अघि सो रकम पाएको भए, गुजरा चजाउने काम रामै्र गरि चलिसकेको हुन्थ्यो’ , अयोग्य लडाकु एकै स्वरमा भन्छन्, ‘ सरकारले सकारात्मक निर्णय गरेको छ । तर प्रर्याप्त छैन । हामीलाई सम्मान पूर्वक जीबन जिउने वातावरण बनाइयोस् ।’
उनीहरुलाई हिजो बन्दुक बोकाउन सिकाइयो । सडकमा ल्याएर छोडियो । उनीहरुसंग अर्को सिप छैन । अयोग्य लडाकु भन्छन्, ‘हामीले जे सिकेका छौं, त्यहीं गर्छौ । मर्नुभन्दा बहुलाउनु बेश ।’ उनीहरु विभिन्न माग राख्दै आन्दोलनमा छन् । रमेश भन्छन्,‘हाम्रा माग पूरा गर्नुको साटो हामीमाथि धरपकड शुरु भएको छ । हामी त मरेतुल्य छौं । मृत्युको डर छैन ।’ अयोग्य लडाकुहरु मध्ये अधिकांश आफ्नो घर फर्केका छैनन् । घरभन्दा टाढा मजदुरी गरेर बसिरहेका छन् । उनीहरु मध्ये अधिकांशसंग शैक्षिक योग्यतापनि छैन । समाजमा घुलमिल हुने वातावरणपनि भएन । घरगृहस्थीबाट टाढा रहदा उनीहरुमा आक्रोशसिवाह केही रहेन । उनीहरु पछिल्लो समय संगठितरुपमै संर्घषमा लागेका छन् ।
बिप्लव माओवादीलाई सुझाव
अयोग्य घोषित लडाकुमध्ये अधिकांश बालउमेरमा युद्धमा लागेका थिए । अवोध मनस्थितिमा युद्धको आगो सल्काइएको थियो । उनीहरुलाई अहिले लाग्छ, ‘उमेर पुगेको भए सायद उनीहरु युद्धमा जाने निर्णय गर्दैनथे, युद्धमा गइहालेको भएपनि अयोग्य हुंदैनथे ।’
विप्लव नेतृत्वको माओवादीले अयोग्य लडाकुलाई प्रभावमा पार्ने अनेकन प्रयास गरिरहेको छ । हिजो धोका दिइएकाले न्यायका लागि फेरी लड्ने दिन आएको भनि रातदिन विप्लवलगायतका नेताहरुले सम्झाउने गरेका छन् । उनीहरुले जवाफ दिने गरेका छन्, ‘हामी लडौंला नलडौंला, बेग्लै कुरा हो । कम्तिमा बालबालिकालाई प्रयोग गर्ने बानी छोडिदिनोस् ।’ विप्लव नेतृत्वको माओवादीले जेठ ७ गते काठमाडौंमा शक्ति देखायो । ठूलो हिस्सा बालबालिका थिए । अयोग्य लडाकुले उनीहरुमा आफैंलाई पाए । हिजो त्यसैगरी उनीहरु युद्धमा प्रयोग भएका थिए । अयोग्य लडाकुको आग्रह छ,‘हाम्रोजस्तै नियति कसैको नदोहोरियोस् ।’
प्रस्तुतिः भौतिक मल्ल
biplav lai sujhab
ladaku yodhya
mawobadi