एसएलसीको नतिजा नआउदै मृत्युभयाे दिनेशकाे - शोकमा डुबे आफन्त
जाजरकोट, २ असार विभिन्न संचारमाध्यममा असार २ गते एसएलसीको परीक्षाफल सार्वजनिक हुने खबर सुनेपछि जाजरकोट ढिमे ५ नाउलीखेतका १६ वर्षे दिनेशकुमार सिंह परीक्षाफल थाहा पाउने व्यग्र प्रतिक्षामा थिए । तर उनले आफ्नो परीक्षाफल सुन्न नपाउँदै यो संसारबाट सदाका लागि विदा लिएका छन् ।
लक्ष्मिप्राप्ति उच्च माबि खुर्पाबाट एसएलसी दिएका दिनेशको परीक्षाफल प्रकाशित भएकै दिन ज्यान गएपछि उनी पढेको स्कूल र उनको गाउँ शोकमा डुबेको छ ।
आफन्त सुरेन्द्र शाहीका अनुसार बुधवार घरनजिकै दिदीको मकै गोड्न गएका दिनेशको खुट्टामा एक्कासी चसक्क भएको थियो । त्यसपछि खुट्टा विस्तारै सुन्निदै गयो । टोकेको हो कि के हो छुट्याउनै नसकेपछि गाउँकै धामीले उनको खुट्टा झारफुक गरे ।
प्रेत लागेको भन्दै पूजा गरे तर उनको खुट्टा वीसको उन्नाईस पनि भएन । अन्तत बिहीबार बिहान उनको निधन भयो । समयमै अस्पताल लगेको भए उनको ज्यान बच्ने पनि सक्ने थियो ।
धामीप्रतिको अन्धविश्वास कायमै रहनु, समयमा अस्पताल नलिनु लगायतका कारणले उनको अकालमै ज्यान गएको गाउँकै प्रविण नेपालीले बताउनुभयो । दिनेशलाई सर्पले टोकेको आशंका गाउँलेले गरेका छन् ।