सशस्त्र प्रहरी बलकाे उच्चस्तरीय व्यवस्थापन तालिम संचालन
असार - २, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रिय विभागको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एक महिना अवधिको उच्चस्तरीय व्यवस्थापन तालिम संचालन भएको छ । यो तालिम सशस्त्र प्रहरी बलमा पहिलो पल्ट संचालन भएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थ खनिया र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले बिहिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सो तालीमको उद्घाटन गरे । उपकुलपति डा. खनियाले त्यसअवसरमा सिक्ने र सिकाउने कुरा समय अनुसार परिवर्तन हुने चर्चा गर्दै सिकाइका दायरा र क्षेत्र विस्तार हुने भएकोले यस प्रकारका तालिम वदलिएका र परिवर्तन भएका कुरा सिक्ने महत्वपूर्ण अवसर भएको बताए। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले यस प्रकारका तालिम आफ्नो निकै अघि देखिको सोच भएको स्मरण गर्दै यस तालिमलाई बढुवाको हिसावले मात्र नभई आफ्नो वृत्ति विकास र ज्ञान हासिल गर्ने अवसरको रुपमा समेत लिनु पर्ने बताए ।
उनले भने– ‘मलाई संगठनले के दियो भनेर सोच्ने हो भने कसैको पनि वृत्ति विकास हुँदैन र यस्तो सोचले राष्ट्रले पनि केही पाउदैन, तर मैले संगठनलाई के दिएँ भनेर सोच्नुहोस् त्यसले संगठन समाज र राष्ट्रको उन्नतीमा ठुलो योगदान पुर्याउछ ।’ राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले यस प्रकारका तालिमले प्रत्येक अधिकृतलाई कार्य क्षेत्रमा अझ प्रभावकारी सेवा दिन सक्षम बनाउने विश्वास व्यक्त गरे । सो तालिममा नेतृत्व, व्यवस्थापन, प्रशासन, सुरक्षा र द्वन्द्व, सशस्त्र प्रहरी बलको कार्यक्षेत्र र जिम्मेवारी लगाएतका विविध विषयमा प्रशिक्षण दिइने कुरा समारोहमा जानकारी गराइएको थियो । तालिममा चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गरी कुल २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
Darju kumar Rai Sasastra prahari Tirtha khaniya