देउवाले दिए प्रचण्ड विरुद्ध उजुरी
काठमाडौं असार ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा प्रचण्डविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता गरेको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको, राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको छ । प्रचण्डको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिता विपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।
उजुरीमा २०६० भदौमा कैलालीको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उल्लेख छ।
राजधानि दैनिक
Prachanda