सरकारको एकलौटी चुनावी कार्ययोजनाले कांग्रेस असन्तुष्ट
असार – ४, प्रधानमन्त्रीले ’एकलौटी’ रूपमा संविधान कार्यान्वयन कार्ययोजना ल्याएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ । निर्वाचन र संविधान कार्यान्वयनको कार्ययोजना बनाउनुपर्ने मुख्य सुझाव कांग्रेसकै थियो । तर, एकपटक संवादै नगरी घोषणा गरिएकाले उसको मन दुखेको हो ।
केही समयअघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेरै प्रमुख राजनीतिक शक्तिबीचको समझदारीबाट मात्रै अघि बढ्न आग्रह गरेका थिए । कांग्रेसको मुख्य सरोकार अबको निर्वाचन कसको नेतृत्वमा गर्ने भन्नेमा केन्द्रित देखिन्छ । निर्वाचनमा जानुअघि संविधान कार्यान्वयनसँग जोडिएका राजनीतिक र कानुनी मुद्दाहरूमा प्रमुख दलहरूबीच समझदारी जुटाउनुपर्ने माग उसले राख्दै आएको छ । यी मुद्दामा समझदारी हुँदै जाँदा सरकारको नेतृत्वको विषय पनि अवश्य एजेन्डामा आउने विश्वास कांग्रेस नेताहरूलाई परेको छ ।
’हो कार्ययोजनासहित अघि बढ्नुपर्छ भन्ने हाम्रो पनि सुझाव हो । तर, कुन समयभित्र के-के काम सम्पन्न गर्ने भन्ने विषयमा राजनीतिक समझदारी हुनुपथ्र्याे,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ’प्रधानमन्त्री एकलौटी रूपमा जसरी अघि बढिरहनु भएको छ, त्यसले बाहिर निर्वाचन भन्ने तर नियत निर्वाचन नगराउने देखिँदैछ ।’
तर प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउने मनसायबाट घोषणा गरेको निर्वाचनसम्बन्धी कार्ययोजनाले कांग्रेस सशंकित छ । तैपनि वरिष्ठ नेता पौडेलले सरकारको नेतृत्वको विषय मुख्य नरहेको दाबी गरे । ’सहमति व्यवस्थाका लागि गरौं, सत्ताका लागि नगरौं भन्ने नै मेरो जोड रहँदै आएको छ,’ उनले भने । तर, उनको जोडलाई कांंग्रेस सभापति शेरबहादुर देउवा पक्ष र स्वयं पौडेल पक्षकै कतिपय नेताहरू मान्दैनन् ।
देउवा निकटका नेता प्रकाशरण महतले चुनावी सरकारको विषय पनि मुख्य मुद्दा रहने बताए । राष्ट्रिय सहमतिको वातावरण नबनाई प्रधानमन्त्री ओलीको एकल यात्राबाट तय भएको निर्वाचनले राष्ट्रिय र अन्तराष्ट्रिय समुदायको विश्वास आर्जन गर्न नसक्ने महतको तर्क छ ।
Congress