News

पूर्वराष्ट्रपतिकाे डेरा विवाद पछाडिका दृश्य

पूर्वराष्ट्रपतिकाे  डेरा विवाद पछाडिका दृश्य

3 देशका पहिलो राष्ट्रपति रामवरण यादव डेराजस्तो सामान्य विषयका कारण असामान्यरुपमा विवादमा तानिएका छन् । यो देशका पहिलो राष्ट्रपतिका सन्दर्भ बिल्कुलै असान्र्दभिक र गणतन्त्रको तालसंग नमिल्ने खालको छ । यसका केही पाटा र पक्ष नियालेर निचोडमा पुग्नु उचित हुन्छ ।

१ लाख तीस हजार मासिक भाडा र बिजुलीबत्तिलगायतका अतिरिक्त खर्च सरकारले तिर्ने गरी घरबेटी रबिभक्त विष्टको घर भाडामा लिइएको थियो । यादव शितल निवासबाट बाहिरिएसंगै सो घरमा सरेका थिए । चिटिक्क परेको घरको निर्माण कार्यपनि पूरा सकिएको थिएन । हतारहतार यादव सो घरमा सरेका थिए वा सारिएका थिए । अहिले घरबेटी विष्टले राष्ट्रपति कार्यालय र मन्त्रिपरिषद्लाई विपक्षी बनाइ घर खाली गराउनका लागि ललितपुर जिल्ला अदालतमा मुद्धा हालेका छन् । मुद्धको फैसला जे सुकै होस् यसले राज्यसंयन्त्र र पूर्व राष्ट्रपति यादवको छबि नराम्रोसंग धुमिल बनाइरहेको छ ।

पूर्वराष्ट्रपतिको राजकीय शैली

पूर्वराष्ट्रपति एक सामान्य नेपालीका छोरा हुन् । संघर्ष र संयोगको फलका कारण उनले पहिलो राष्ट्रपति बन्ने सौभाग्य पाए । उनी राष्ट्रपति भइसकेपछि आम नेपालीजस्तो हुन चाहेनन् । संवैधानिक राजाको परम्परागत भुमिकामा देखिए । शालिन देखिने, मन्दिर धाउने, अर्तिउपदेश दिने र राजनीतिक निर्णयमा जबरजस्त हस्तक्षेप गर्ने उनको स्वभाव भयो । दौरा सुरवाल र तराईपहाडहिमाल सबै एकै भन्ने उनको अभिव्यक्तिले धेरैको मनमा उनी बस्न सफल भए । तर, छांटकांट पूरै दरबारिया शैलीको देखाए । उनका छोरा चन्द्रमोहन यादब डाक्टरी पेशाबाट एकाएक राजनीतिमा आए । राजकुमार झैं उनी शिलतनिवासबाट राजनीतिक दाउंपेचमा सक्रिय भए ।

२ बर्षका लागि राष्ट्रपति भएपनि समयसन्दर्भले उनी ८ बर्ष राष्ट्रपति भए । चित्त बुझेन तैपनि । उनी थप अर्को कार्यकालका लागि सक्रिय रहे । अन्तिम दिनसम्म उनी शिलतनिवासमा आफ्नो कार्यकाल लम्ब्याउनका लागि व्यस्त रहे । जब शिलतनिवास खाली गर्नुपर्ने दिन आयो, उनको वासको ठेगान लागिसकेको थिएन ।

समस्या उनको छनौटमा

उनी राजनीतिको शिखरमा पुगे । देशको पहिलो राष्ट्रपतिका हिसावले उनी ऐतिहाशिक व्यक्तित्व बने । तर, उनले शितल निवासबाट बाहिरिदा शिखर व्यक्तित्व प्रर्दशन गर्न सकेनन् । उनले चौडा कम्पाउण्डसहितको घर खोजे त्योपनि भैंसेपाटी क्षेत्रमै । उनको त्यहां आफ्नै घर थियो । यत्ति हो प्रर्याप्त कम्पाउण्ड थिएन । उनी सरासर आफ्नै घर गएको भए राज्यलाई दबाब पथ्र्यो । पूर्वराष्ट्रतिलाई समेत उचित बास व्यवस्था गर्न किन नसकेको भन्ने प्रश्न सिंहदरबारलाई भारी पथ्र्यो । तर, यादवले यो मौकै दिएनन् । उनी भाडामा त्योपनि निर्माणाधिन घरमा सारिए । त्यो शान र सौकत त्यहींदिन नराम्रोसंग हल्लियो ।

पूर्वराष्ट्रपति पेशाले चिकित्सक हुन् । विपी कोइरालाका निजी चिकित्सक भइसकेका डाक्टर हुन् । उनी घरभाडाको सन्दर्भमा रुमल्लिने व्यक्तित्व हुंदै होइनन् । उनी सामान्य जीवनयापनका लागि तयार भएको भए आर्दशको मानक बन्थे । उदाहरणका लागि अमेरिकाका पूर्वउपराष्ट्रपति एल गोरलाई लिन सकिन्छ । कार्यकाल सकिएको भोलिपल्ट उनी अध्यापनमा लागे । यस्ता धेरै उदाहरण छन् । राष्ट्रपतिपनि विरामीको चेकजांच र स्वास्थ्य शिक्षामा सक्रिय हुनसक्थे । उनी जस्तो ठाऊंमा बसेपनि जहां गएपनि जुन पेशा अंगालेपनि उनको विरासत उनी संगै हुन्थ्यो । तर, उनले सो बाटो पछ्याएनन् । राष्ट्रपतिबाट बाहिरिएपछि उनी राजनीति र गैरराजनीतिक जीबनको दोसांधमा अलमलिएका छन् । उनी वक्तव्यवाजीमा देखिन्छन् ।

ढिला भएको तर चुकिनसकेको मौका

राष्ट्रपतिको आफ्नै निवास छ । उनी त्यहां सर्दा केही बिग्रदैन । भौतिकरुपमा गाह्रो सारो होला, तर आध्यात्मिकस्वभावका यादवलाई यसले सन्तुष्टि देला । पूर्वराष्ट्रपतिलाई भएको गाह्रो सारो सारा दुनियांलाई देखाउंने संचारमाध्यम प्रशस्तै छौं । सो अवस्थामा यादवले भन्दैनभनि राज्यले सुन्न बाध्य हुनेछ । पूरै नेपालनै आफ्नै घर मानेर सेवाभावका साथ बस्नुपर्ने युगपुरुष यादवलाई नाथे घरमा राज्यले अल्झाएको र उनी आफैंपनि अल्झिएर बसेको पटक्कै सुंहाएको छैन ।

समाचार टिप्पणी

Former president Of nepal Ram Baran Yadav

विशेष