अभिभावकले थुने प्रधानाध्यापकलाई
असार ६ । धनुषाको गिद्धास्थित जनता उच्चमाविका प्रधानाध्यापकलाई अभिभावकले थुनेका छन् । विद्यालयले अध्ययनरत ३ सय विद्यार्थीलाई एकैपटक निष्कासन गरेको थियो । विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डलले आफै सञ्चालन गरेको ‘कोचिङ सेण्टर’मा नपढेका छात्रछात्रालाई वार्षिक परीक्षामा अनुत्र्तीण गरेका थिए । विद्यार्थीलाई निष्कासन गरेको भन्दै अभिभावकले प्रधानाध्यापकलाई थुनेका हुन् । आइतवार प्रअसहित अन्य शिक्षक पनि विद्यालयपरिसरभित्रै थुनिए ।
प्रधानाध्यापक मण्डलले विद्यालय समय सकिएको २ घण्टापछि कक्षाकोठामै ‘कोचिङ’ कक्षा सञ्चालन गरेका प्रत्येक छात्रछात्राबाट मासिक साढे ८ सय रुपैयाँसम्म रकम लिँदै आएको अभिभावक मनोज अधिकारीले बताए । मण्डलले सरकारले दिने छात्रवृत्तिसहितका सेवासुविधामा समेत अनियमितता गर्दै आएको अभिभावकहरूको दाबी छ । मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाको अनुसन्धान अझै सकिएको छैन ।
विद्यालयको पठनपाठन, शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारका लागि पहल गर्ने शिक्षकलाई मण्डलले विभिन्न बहानामा निलम्बन एवम् हटाउने कार्य गर्दै आएको उनीहरूको भनाइ छ । प्रअ मण्डलले शिक्षा कार्यालयमा कार्यरत कर्मचारी र अधिकारीको संरक्षणमा विद्यालयमा मनपरी गर्दै आएको स्थानीय सिकिल मण्डलले बताए ।
School