ताजा खबर प्रवास रोजगार News

​सदनमा म्यानपावरमाथि कारबाही माग

​सदनमा म्यानपावरमाथि कारबाही माग

sansad in nepal

काठमाडौं, ७ असार । व्यवस्थापिका–संसद्ले भूकम्प प्रभावित जनतालाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  संसद्को मंगलबारका बैठकमा बोल्ने अधिकांश सांसदले भूकम्पको एक वर्षभन्दा बढी समय भइसक्दा पनि प्रभावितले राहत नपाएको भन्दै सरकारको चर्को आलोचना गरेपछि सभामुख ओनसरी घर्तीले सरकारलाई रुलिङ गरेकी हुन् । उनले भूकम्पपछिको पुनर्निर्माण र पीडितलाई प्रदान गरिएको सहायताबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिइन् ।

सभामुख घर्तीले अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले गराएको विस्फोटमा परी निधन भएका १२ नेपालीप्रति शोक प्रकट गरिन् । उनले त्यस प्रकारको आततायी घटनाको निन्दा गर्दै घाइतेको स्वास्थ्योपचारको व्यवस्था गर्न समेत आग्रह गरिन् ।  बैठकमा सांसदले काबुलमा भएको आतंककारी विस्फोटमा परी निधन भएकाहरूप्रति दुःख व्यक्त गर्दै विदेशी भूमिमा रहेका नेपालीको सुरक्षा गर्न आग्रह गरेका थिए । सरकारले नेपालीको सुरक्षा, घाइतेको उपचार र मृतकका आश्रित परिवारलाई राहत दिन तथा द्वन्द्वग्रस्त मुलुकमा गैरकानुनी रूपमा नेपालीलाई पठाउने वैदेशिक रोजगार संस्था म्यानपावरलाई कारबाही गर्न आग्रह गरे ।

 बैठकको विशेष समयमा नेकपा एमालेका चूडामणि विक जंगलीले अफगानिस्तानमा नेपालीको हत्याको छानबिन गर्न र विदेशमा रहेका नागरिकको सुरक्षाको प्रबन्ध गर्न आग्रह गरे । उनले नेपाली नागरिकको रक्षा गर्न नसक्नु र उनीहरूलाई असुरक्षित रूपमा काममा लगाउने प्रवृत्ति गलत भएको धारणा राखे ।  एमालेकै विकास लम्सालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका पक्षमा जुन रुपमा काम गर्नुपर्ने हो त्यो गर्न नसके पनि काम अघि बढेकाले अनावश्यक विरोध नगर्न आग्रह गरे ।  नेकपा माओवादी केन्द्रका तुलसा रानाले अफगानिस्तानमा नेपाली कसरी र कुन उद्देश्यका लागि लगिएको हो सो सम्बन्धमा सरकारले सदनलाई थप प्रस्ट पार्नुपर्ने बताए नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले सरकारमा रहेका मन्त्रीले नै गणतन्त्र र संघीयताविरुद्ध धारणा राखिरहेको भन्दै आपत्ति जनाए ।

Samsad samsad baithak

विशेष