समितिले सरूवासम्बन्धी विवरण साताभित्र उपलब्ध गराउन निर्देशन
असार - ७ । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले कर्मचारीको हालै गरिएको सरूवा सम्बन्धी विवरण एक साताभित्र उपलब्ध गराउन गृह र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले गृहमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र स्थानीयविकास राज्यमन्त्री कुन्तीकुमारी शाहीलाई बोलाएर छलफल गरी पछिल्लो समयमा गरिएको सरुवाको विवरण एक साताभित्र उपलब्ध गराउन गृह र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले गत जेठ १८ गते १५ जिल्लाका सीडीओसहित मन्त्रालय मातहतका कार्यालयका ५१ जना अधिकृतहरुको सरुवा गरेको थियो । यस्तै, स्थानीय विकास मन्त्रालयले २१ जना स्थानीय विकास अधिकारी र २२ जना अधिकृतहरुको सरुवा गरेको थियो ।
दुवै मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयको सहमति वेगर सरूवा गरेका कारण समितिले सरुवा गरिएका कर्मचारीको विवरण माग गरेको हो । समितिले सरुवा र काजका सम्बन्धमा निजामती सेवा ऐन र नियमावलीमा गर्नुपर्ने सुधार सम्बन्धी विषय लिखित रुपमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले मन्त्रीहरूले आफूखुसी कर्मचारी सरुवा गर्ने गरेका कारण निजामती प्रशासनमा काम गर्नेभन्दा राम्रा निकायमा जानका लागि चाकडी गर्ने प्रवृत्ति मौलाएको बताएका थिए ।
sansadiya sunuwaio samiti