अर्थ ताजा खबर News

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

जेठमा लक्ष्यभन्दा ३ अर्ब बढी भन्सार राजस्व

images

काठमाडौं, असार ८ । चालू आर्थिक वर्षको जेठ महिनामा लक्ष्यभन्दा झन्डै ३ अर्ब रुपैयां बढी भन्सार राजस्व संकलन भएको छ । विभागको तथ्यांकअनुसार जेठमा २० अर्ब २९ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ११७ प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड रुपैयाँ राजस्व असुली भएको छ । ११ महिनामा भने लक्ष्यको ९२ प्रतिशत मात्र राजस्व असुली भएको छ । जेठमा मुख्य भन्सारहरू वीरगन्ज, सुक्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा धेरै राजस्व असुली भएको छ भने मेची, विराटनगर, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट कम राजस्व संकलन भएको छ ।

यसअवधिमा सबैभन्दा बढी राजस्व वीरगन्ज भन्सार कार्यालयबाट ९ अर्ब ४६ करोड उठेको छ । यो लक्ष्यको १३४ प्रतिशत हो । यस्तै, भैरहवाबाट ७ अर्ब १६ करोड अर्थात् लक्ष्यको १३८ प्रतिशत असुली भएको छ । सुक्खा बन्दरगाहबाट १ अर्ब ९९ करोड अर्थात् १३८ प्रतिशत राजस्व असुली भएको छ । थप पूर्वाधार कर लगाएपछि राजस्व बढेको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ९४ करोड (८४ प्रतिशत), विराटनगरमा २ अर्ब १६ करोड (८२ प्रतिशत) र मेची ६२ करोड (८१ प्रतिशत) मात्र राजस्व असुली भएको छ ।

चालू आवको ११ महिनासम्म १ खर्ब ६८ अर्ब रूपैयाँ राजस्व उठेको छ । जुन लक्ष्यको ९२ प्रतिशत हो । लक्ष्य नपुगे पनि अघिल्लो आवको ११ महिनाको अवधिभन्दा ५.६ प्रतिशत राजस्व वृद्धि भएको छ । गत आर्थिक वर्षमा १ खर्ब ५९ अर्व राजस्व उठेको थियो । ११ महिनासम्म लक्ष्यभन्दा १४ अर्व ६१ करोड रूपैयंँ कम छ । असारमा राजस्व बढ्ने भएकाले यस वर्ष लक्ष्यभन्दा १० अर्ब रूपैयां कममात्रै राजस्व नउठ्ने देखिन्छ । यस वर्षको भन्सार राजस्व लक्ष्य २ खर्ब ५ अर्व रूपैयां छ । भन्सार महसुल ७२ अर्व ८७ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) ७० अर्व १२ करोड, अन्तःशुल्क २५ अर्ब ३१ करोड राजस्व उठेको छ ।

Rajaswo Vansar

विशेष