तेह्र घन्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक
असार - ९ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०ः३० बजेबाट यातायात सञ्चालनमा आएको छ ।
तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो । दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बाटो खुलेसँगै नारायणगढबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन् । बाटो खुलाइए पनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने जनाइएको छ । सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए । रासस