ताजा खबर प्रवास विदेश News

झुक्किएर पनि नजानुहोस यी ५ देश, कारण यस्तो छ

झुक्किएर पनि नजानुहोस यी ५ देश, कारण यस्तो छ
dont go to these 5 countries सोमबार भएको तालीवानी आक्रमणमा १३ जनाको ज्यान गयो । वैदेशिक रोजगारीका लागि बिदेश गएका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा मारिएको इराकपछिको यो दोस्रो ठुलो घटना हो । मृतकहरु मध्ये ११ जना श्रम स्वीकृती लिएर अफगानस्थान गएको सरकारी रेकर्डमा देखिन्छ । उपचारका क्रममा बुधबार निधन भएका च्याङबा तामाङको रेकर्ड खोजि भइरहेको छ । बैदेशिक रोजगार विभागका प्रबत्ता मोहन अधिकारीका अनुसार मृतक मध्ये सुनसरीका अकुर तामाङले श्रमस्विकृती लिएको देखिएको छैन । ११ वर्षअघि पनि इराकमा पनि यसैगरी आतंकवादीको हमलामा १२ जना नेपालीको सामुहिक रुपमा निर्मम हत्या भएको थियो । कावुलमा मारिने नेपालीहरु सबै सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । अहिले नेपालीलाई वैदेशिक रोजगारीमा जानका लागि सरकारले ११० देशलाई खुला गरेको छ । तर, १ सय ६७ वटा मुलुकमा नेपालीहरु कामका लागि पुगिरहेका छन् । सरकारले अहिले पाँचवटा मुलुकलाई असुरक्षित ठहर गरेको छ । बैदेशिक रोजगार विभागका प्रबत्ता मोहन अधिकारीका अनुसार इराक, सिरिया, घाना र लिबियामा रोजगारी अनुमति छैन । अफगानिस्तान भने आशिंक रुपमा खुल्ला रहेको प्रवत्ता अधिकारी भन्छन, ‘युएन मिसनको सुरक्षाको लागि युएनले सेक्युरिटी गार्ड माग गरेको प्रमाणित भएमा मात्र श्रम स्वीकृती दिईन्छ ।’ नेपालीहरुका लागि असुरक्षित गन्तव्य जुन देशमा खतरा छ  नेपालीका लागि असुरक्षित मानिएका देशहरुमा इराक, सिरिया, अफगानिस्तान, घाना र लिबिया छन् । यद्यपि यी देशहरुमा नेपालीहरु जाने क्रम रोकिएको छैन । इराक इराकमा नेपालीलाई जान रोक लगाएको ११ वर्ष भइसक्यो । ईस्लामिक आतंकवादी संगठनले ०६१ सालमा १२ नेपालीलाई नियन्त्रणमा लिएर विभत्स हत्या गरेको थियो । अहिलेसम्म पनि त्यहाँ इस्लामिक अतिवादी संगठन अलकायदा, इस्लामिक स्टेट, नुर्सा फ्रन्ट लगायतका संगठनहरु सशस्त्र युद्धमै छन । त्यसैले नेपालीलाई इराकमा कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । तर, लुकीछिपी वा दलालले झुक्काएर नेपाली त्यहां पुगिरहेका छन् । कति नेपाली इराक पुगे भन्ने एकीन तथ्यांक राज्यसंगपनि छैन । अवैधानिकरुपमा इराक पुग्नेलाई रोक्न सरकारले कुनै कदम चाल्न सकेको छैन । राम्रो कमाइ हुने भन्दै गैरकानुनी रुपमा म्यानपावर र एजेन्टलाई ५ लाख रुपैयाँसम्म बुझाएर नेपाली युवा इराक गइरहेको स्रोतले बतायो । अफगानस्तानको जस्तो नियति इराकमा जुनसुकै बेला आइलाग्न सक्ने सरकारी अधिकारीहरुको भनाइ छ । सुरक्षा दृष्टिले इराक अफगानस्तानभन्दा बढी असुरक्षित छ । सिरिया सर्वाधिक चर्चामा रहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) को आधारभूमि हो सिरिया । सिरियाको ठूलो भूभाग अहिले पनि आइएसकै नियन्त्रणमा छ । यो संगठन पछिल्लो दिनमा कमजोर बन्दै गएपनि सिरियामा इस्लामिक अतिवादी क्रियाकलाप घटेको छैन । युरोपका विभिन्न देशमा हिंसात्मक आक्रमण गरेर आफ्नो आतंकको साम्राज्यलाई विस्तार गर्दै गरेको आइएसको मुख्य अखडाका रुपमा रहेको सिरियामा नेपालीलाई काम गर्न जान सरकारले निषेध गरेकोे छ । तर, अधिकारकर्मीका अनुसार त्यहाँ जाने नेपाली कामदारको संख्या सानो छैन । घरेलु कामदारका रुपमा जाने नेपाली महिलाहरुसमेत धेरै छन् । सिरिया पुगेका थुप्रै नेपालीहरु त्यहाँ हिंसा भड्किएपछि नेपाल फर्किएका छन् । कतिपय अझै अलपत्र छन् । तर, मानव तस्करहरुले विभिन्न प्रलोभननमा नेपालीलाई सिरिया पु¥याउन छाडेका छैनन । अमेरिकाको नेतृत्वमा आइएसविरुद्ध हवाइ आक्रमण भइरहदा सिरियालीसँगै विदेशी कामदारहरु युद्धको चेपुवामा परेका छन् । सिरियाको अवस्था यति नाजुक छ कि त्यहां को मारिए कति मारिए भन्ने कुनै लेखोपाखो छैन । लिबिया लिबिया इस्लामिक स्टेटबाट धेरै खतरा भएको अर्को देश हो । यो पनि आन्तरिक गृहयुद्धमा फसेको छ । लिबियामा पनि दिनहुँजसो सानाठूला हिंसात्मक घटनाहरु भइरन्छन् । त्यसैले सरकारले त्यहाँ कामका लागि जान रोक लगाएको छ । इस्लामिक स्टेटको आतंकलाई नियन्त्रण गर्न लिबिया सरकार असफल भइरहेका बेला रोजगारीका नाममा नेपालीहरुलाई पु्र्याइँदैछ । अबैध ढंगबाट नेपाली महिला कामदार लिबियासम्म पुर्याउन गिरोह सक्रिय रहेको छ । लिबिया पुगेका महिला घरभित्रै कैदी अबस्थामा रहने गरेको बताइन्छ । धेरै कमाइ हुने प्रलोभनमा लिबियासम्म पुगेका धेरै नेपालीहरु उद्धारको प्रतिक्षामा छन् । घाना चुनावका बेला घानामा हिंसा भड्कियो । त्यो संगै नेपाली कामदार पठाउन नेपाल सरकारले निषेध ग¥यो । लगत्तै प्राणघातक रुबेला भाइरसले घानालाई आक्रान्त बनायो । तरपनि नेपाली जानेक्रम रोकिएको छैन । जहां रबि पुग्दैनन, त्यहांपनि नेपाली कामदार पुग्छन् भनेजस्तो भएको छ । अफगानिस्तान अफगानिस्तामा सक्रिय तालिवानसहित विभिन्न संगठनहरुले सार्वजनिक स्थानमा आत्मघाती बम बिष्फोट र विभिन्न आक्रमणका घटना गराइरहेका छन् । जसकारण काम गर्न अफगानस्तान पुगेका नेपालीहरु जोखिममा पर्ने गरेका छन् । सरकारले विभिन्न शर्तहरु राखेर सेक्युरिटी गार्डका रुपमा अफगानिस्तान जान दिए पनि अफगानिस्तान नेपालीका लागि कुनै रुपमा सुरक्षित गन्तव्य नरहेको जानकारहरु बताउंछन् । अफगानस्तानबाट बुधबार फर्किएका कामदारले हरक्षण असुरिक्षितरुपमा बिताएको प्रष्ट गरेका छन् । असुरक्षा हुने भनेरै अफगानस्तानमा नेपालीलाई सेक्युरेटी गार्डका रुपमा मात्रै जान खुला गरिएको हो । घरेलु, औद्योगिक, कृषि सेवा लगायत अन्य कुनै पनि क्षेत्रमा अफगानिस्तानमा रहेर काम गर्न नेपालीलाई प्रतिवन्ध लगाइएको छ । बेलैमा सोचौं दलाललाई लाखौं बुझाएर ज्यानको बाजी मारेर असुरक्षित देश जानु कुनैपनि हिसावले उपयुक्त हुंदैन । ज्यान नै नरहे पैसाको के अर्थ ? दलाललाई बुझाउने पैसाले स्वदेशमै धेरै गर्न सकिने उदाहरण प्रशस्तै छन् । अफ्गानस्तान, इराकलगायतका देशमा जाने धेरैजसो युवा मध्यववर्गका खानलाउन पुग्ने परिवारकै रहेको जानकारहरु बताउंछन् । शीघ्र धनी हुने महत्वांकाक्षाका कारण उनीहरु जे पर्ला त्यहीं टर्ला भनेर जाने गरेका छन् । यस्तो मनोविज्ञान हावी हुन नदिन परिवारले पनि भुमिका निर्वाह गर्नुपर्दछ । पैसाकै लागि पेलान दिने प्रवृत्ति घरपरिवारमा रहेको हुन्छ । फलानाले यति कमायो, तैले के गरिस् भन्ने जस्ता प्रश्नले व्यक्तिलाई गर वा मरको स्थितिमा पु्र्याउंछ । अन्ततः नतिजा अत्यन्त प्रतिकुल आउनसक्छ । हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने गरी कोहीपनि असुरक्षित देश नजाऊं । पछुताउने अवसरसमेत मिल्दोरहेनछ भन्ने सन्देश इराक र अफगानस्तान घटनाले दिएको छ । अबका दिनमा यस्तो वियोग कसैले भोग्न नपरोस् । प्रस्तुति– सागर बुढाथोकी

Afghanistan Ghana Iraq Kabul Attact Libiya Siriya

विशेष