इन्डोनेसियाको जाभा प्रान्तमा बाढी र पहिरोबाट ५६ को मृत्यु
यस बाढी र पहिरोमा परी अन्य ९ जना बेपत्ता हुनुका साथै २२ जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले बिहीबार जानकारी दिएका छन् । उद्धारकर्ताहरूले जारी राखेको उद्धारकार्यमा सयौँ व्यक्ति उद्धार भएका स्थानीय अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । यस प्रकोपमा परी जाभा प्रान्तको पुवोरेजो, बानजार्नेगारा, केबुमेन जिल्लाका बढी व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिए । सो प्रकोपको कारण ३९५ जना गाउँलेलाई शरणार्थीस्थलमा लगिएको नुग्रोहोले बताए । यस बाढी पहिरोमा परी १४३ वटा घर र सयौँ भौतिक संरचना क्षतिग्रस्त भएकाे छ। गत शनिबारबाट सुरु भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी १६ वटा जिल्ला प्रभावित भएको जनाइएको छ । इन्डोनेसियामा भारी वर्षा तथा यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।