अर्थ ताजा खबर फुड News

१० अर्बको खाद्यान्न घट्यो

१० अर्बको खाद्यान्न घट्यो

13.

काठमाडौं, असार १० । सरकारले चालू वर्ष कृषि क्षेत्रका लागि २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो, यसै वर्ष कृषिमा करिब १० अर्ब रूपैयाँ बराबरको खाद्यन्न बालीको उत्पादन घटेको छ । कृषि विकास मन्त्रालयले बिहीबार सिंहदरबारमा यस वर्षका प्रमुख बर्खे र हिउँदे बालीको उत्पादनबारे आयोजना गरेको कार्यक्रममा धान, गहुँ, मकैं, कोदो, जौं, फापरको उत्पादन ६ लाख ५२ हजार टन खाद्यन्न उत्पादन घटेको तथ्यांक सार्वजनिक गरेको छ । यो आर्थिक वर्ष ०७१र०७२ को दाँजोमा ७ प्रतिशत कम हो ।

नेपालका यी मुख्य खाद्यन्न बाली हुन । मन्त्रालयका अनुसार, उत्पादन घटेका बालीहरुको परिणामको मूल्य १० अर्ब रुपैयाँ हाराहारी हो । ‘घटेका बालीहरुको प्रति किलोग्राम १५ रुपैयाँ लागत दर अनुमान गर्दा १० अर्ब हाराहारी बारबारको कृषि उत्पादन यस वर्ष घटेको छ,’ मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले भने । यस वर्षको हिउँदयाममा परेको खडेरी, नाकाबन्दीका कारण रसायनिक मल ढुवानीमा परेको असरलगायतका कारणले उत्पादन घटेको मन्त्रालयले जनाएको छ ।

‘नाकाबन्दीका कारण बर्खेयाममा धान खेतीका लागि रसायनिक मल आपूर्ती गर्न सकिएन, हिउँदे बालीले खडेरी सामान गर्नुर्पयो,’ मन्त्रालयका निमित्त सचिव सुरोज पोखरेलले भने । यस वर्ष अन्नवाली लगाइने जमिनको क्षेत्रफल पनि २ प्रतिशतले घटेर ३३ लाख हेक्टर पुगेको छ । यसवर्ष धान, गहु, मकैं, कोदो, जौं, फापरको कुल देशभरको उत्पादन ८६ लाख १४ हजार टन पुग्ने छ ।

गत वर्ष यी सबै बालीहरुको उत्पादन ९२ लाख ६६ हजार टन थियो । यस वर्ष सबैभन्दा धेरै उत्पादन घट्ने बालीमा धान छ । यसको उत्पादन १० प्रतिशतले घटेको छ । तथ्यांकअनुसार अघिल्लो वर्ष देशभर धानको उत्पादन ४७ लाख ८८ हजार टन पुगेको थियो तर यस वर्ष यो ४२ लाख ९९ हजार टनमा झरेको छ । फलफूल, तरकारी, नगदेबाली बाहेक मुख्य खाद्यन्न उत्पादन गरिने जमिन ३३ लाख हेक्टरमध्ये नेपालमा सबैभन्दा धेरै धानखेतीकालागी जमिन प्रयोग हुने गरेको छ । तर यस वर्ष धानखेती गरिने जमिन पनि अघिल्लो वर्षको दाजोमा ४ प्रतिशतले घटेर १३ लाख ६२ हजार ९ सय ८ हेक्टर पुगेको छ ।

हरेक वर्ष धान खेतीकालागी प्रयोग हुने जमिन घट्दै गइरहेको छ । मन्त्रालयले युवा पलायन, कामदार अभाव, घर–घडेरीका लागि हुने खण्डिकरणका कारण धानखेती गरिने जमिन घट्ने गरेको मुख्य कारण बताउँदै आएको छ । यस वर्ष ६२ हजार हेक्टर जमिनमा धान खेती नभएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा लेखिएको छ । कान्तिपुर

Food nepal

विशेष