कर्पोरेट ताजा खबर News

अख्तियारले थाल्यो सहकारीको छानबिन

अख्तियारले थाल्यो सहकारीको छानबिन

aktiyar अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरी सहकारीमा लुकाएको आशंकामा सहकारीमा छानबिन थालेको छ । आयोगले सहकारी विभागबाट ठूला कारोबार गर्ने सहकारीहरूको फाइल मगाएर छानबिन अघि बढाइएको छ ।अख्तियारको निर्देशन बमोजिम सहकारी विभागले छानबिनका लागि आवश्यक कागजात उपलब्ध गराएको छ । फाईल हेरेर व्यक्तिको सम्पत्ति छानबिन सुरु भएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । अख्तियारले यसअघि केही व्यक्तिगत मुद्दामा बाहेक सम्पत्ति छानबिनका लागि बैंक तथा वित्तीय संस्थाबाट मात्र कारोबार विवरण मगाउने गरेको थियो । सहकारीमा पनि धेरै कारोबार हुन थालेपछि अख्तियारले सहकारीमा पनि चासो दिन थालेको हो । अकुत सम्पति कमाएको अभियोगमा करिब ५ सय व्यक्तिमाथि आयोगले छानबिन गरिरहेको छ । विभिन्न राजनीतिक दलका नेतारकार्यकर्ता, बहालवाला तथा अवकाशप्राप्त सरकारी अधिकारी, सांसदलगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरू छानबिनको दायरामा रहेको अख्तियारले जनाएको छ । सहकारी विभागको तथ्यांकअनुसार देशभरका ३२ हजार ६६३ सहकारीमा ५१ लाख ३७० सदस्य छन् । ती संस्थामा २ लाख ७ हजार ९८८ सञ्चालक, ६३ अर्बभन्दा बढी सेयर पुँजी, २ खर्ब निक्षेप र १ खर्ब ८८ अर्बभन्दा बढी लगानी छ । ५ करोडभन्दा बढी कारोबार गर्ने सहकारीको संख्या २ हजारभन्दा बढी छ । ५ करोडमाथि कारोबार गर्ने सहकारी राजधानी केन्द्रित छन् ।

Aktiyar Sahkari

विशेष