एकल महिलाले घर बनाउन दुई लाखमा ५० हजार थप रकम पाउने
असार - ११ । छोराछोरी नभएका ७५ वर्ष नाघेका एकल महिलालाई घर बनाउन सरकारले दिने हजारसम्म थप गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सरकारले दिने दुई लाखमा विभिन्न गैरसरकारी संघसंस्था परिचालित गरी ढुवानी अनुदानस्वरूप ५० हजार थप्ने व्यवस्था मिलाइएको बताए । एकल महिलाका नाममा जग्गा नामसारी नभए पनि गाविसको मृत्युदर्तालाई आधार मानेर घर बनाउन रकम उपलब्ध गराइने उनले बताए । भूकम्पबाट अति प्रभावित क्षेत्रमा महिलाका नाममा पुर्जा नभए पनि रकम उपलब्ध गराउन लागिएको छ ।
मानवअधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर) ले अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने सन्दर्भमा बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गोरखाकी मीना अधिकारीले सरकारलाई पुनर्निर्माणका काममा भूकम्प प्रभावित एकल महिलालाई प्राथमिकतामा राख्नुको साथै छोराछोरीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न आग्रह गरिन् ।
डब्लूएचआरकी संस्थापक अध्यक्ष लिली थापाले सरकारले एकल महिलाका पक्षमा काम गरिरहेको बताउँदै एकल महिला सुरक्षा कोषमा रहेको चार करोड ५० लाख रुपैयाँ भूकम्पपीडित एकल महिलाका घर निर्माणमा परिचालन गर्न सुझाव दिइन् ।