बाढीले बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित
लहान, ११ असार । अबिरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
एक सातादेखिको वर्षाका कारण आज बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिए। सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिनुभयो । यस्तै अबिरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् । यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट इलाका प्रहरी लहानले तीन जनालाई उद्धार गरेको थियो । रासस