कभर स्टोरी मेरो परिवार मेरो कथा News समाज

एक सय जोडीको अन्तरजातिय विवाह गराएका अनिल बस्नेत भन्छन

एक सय जोडीको अन्तरजातिय विवाह गराएका अनिल बस्नेत भन्छन

उनी भोजपुरको मज्जेवेसीमा जन्मिए । तरुण नदीमा जलसमाधी लिएर राणा प्रधानमन्त्रीलाईसमेत झुकाउने योगमायाको प्रभाव सानैदेखि पर्यो । उनले योगमायालाई देख्न त पाएनन्, तर एउटै थातथलोकी उनका बारेमा प्रशस्तै सुन्न पाए । जिन्दगीमा अरुले बेठीक भनेपनि आत्मालाई सही लागेको बाटो हिड्न सक्ने प्रेरणा योगमायाकै कहानीबाट बटुले । अनिल बस्नेत १६–१७ बर्षकै उमेरमा पढ्नका लागि अष्ट्रेलिया हानिए । विन्दास थियो जिन्दगी । आफुभन्दा ठूलाको अगुवाइ गर्ने सामाथ्र्य उनमा देखियो ।

उनी टिममा हिड्न रुचाउंथे । खाइपिइ र खुब मस्ती थियो । अष्ट्रलियन वेलफेर सोसाइटी गठन भयो । १८ बर्षकै उमेरमा उनी सोसाइटीको संस्थापक अध्यक्ष भए । उनको जीबनले नयां रुप लियो । ख्यालख्यालमै उनी नेता र समाजसेवीको बाटोमा अघि बढे । दुईवटा विश्वविद्यालयबाट डिग्री लिइसकेका थिए । अष्ट्रेलियामै आरामदायी जिन्दगी जिउंने प्रशस्त आधार तयार भइसकेको थियो ।

उनी देशमै केही गर्ने भन्दै फर्किए । सन् २००० मा तत्कालिन युवराज पारस अष्ट्रेलिया भ्रमणमा जांदा पारस र अनिलको मित्रता बस्यो । नेपाल फर्केपछि झ्याङ्गियो । अनिलले रोजगारमूलक काम गर्ने र रोजगारी उत्पादन गर्ने सोच बनाए । साथीभँइले नेपालमा केही गर्न नसकिने भन्दै उनलाई अष्ट्रेलिया बोलाएको बोलाइ थिए ।

उनी डग्मगाएनन् । व्यवसाय जम्दै गयो । उनलाई भ्याइनभ्याइ हुन थाल्यो । उनी सफल व्यवसायीमा गनिइसकेका थिए । उनको मनमा अर्कै आंधीबेहरी आइसकेको थियो । उनलाई राजनीति गर्न मन लाग्यो । ‘देश गणतन्त्रमा गयो । धर्मनिरपेक्षता भनियो । धर्म मास्ने काम भयो ।’ अनिल भन्छन्, ‘हामी युवाले व्यक्तिगत लाभ हेरेर पुग्दैन । धर्म र देशका लागि आफुलाई होम्नुपर्छ ।’

यात्रा शिब सेना नेपालको

उनी आफुलाई शिबभक्त भन्दछन् । जसरी शिबले हातमा त्रिशुल लिएका छन् त्यसैगरी आफ्नो हातमा धर्म बचाउनका लागि केही न केही अश्त्र हुनुपर्छ भन्ने उनको मनमा लागिरहेको छ । परिआए जेपनि गर्ने भन्दै उनी सशस्त्र संर्घषको संकेत गर्छन् । शिब सेना नेपालको संगठन विस्तारमा उनी लागेका छन् । अहिले जिल्लाजिल्लामा संगठन बनाउन दिनरात लागिपरेको उनको भनाइ छ । केही जिल्लामा बाहेक सबैजसो ठाऊंमा संगठन बनिसकेको र केही महिनामा सबै जिल्लामा संगठन भएको विशाल पार्टी बन्ने उनको धारणा छ ।

सांगठनिक क्षमताकै कारण उनी छोटो अवधिमा केन्द्रीय नेता बने । अहिले युवा दस्ता निर्माण गरिहेका छन् । हिन्दु धर्म जस्तोे समानतामुलक र सरल धर्म अरु कुनैपनि नरहेको उनको बुझाइ छ । तर, छुवाछुतजस्तो कुसंस्कारका कारण हिन्दु धर्मलाई नराम्रो धक्का लागेको उनी बताउंछन् । अनिल भन्छन्,‘हिन्दु धर्ममा छुवाछुत हुंदैन । तर, धर्मभिरुहरुका कारण धर्मको गलत अभ्यास भइरहेको छ ।’ धर्म र समाजलाई छुवाछुतमुक्त नबनाइ समाजपनि नबदलिने धर्मपनि नजोगिने उनको निष्कर्ष छ ।

उनले २०७१ सालमा देशभरीका एक सय अन्तरजातिय जोडीको सामुहिक विवाह गराए । पार्टीको सक्रियतामा भएको सो विवाहमा १५/२० हजार जन्ती नै थिए । पशुपतिमा गरिएको सो कुम्भविवाहले धेरैको ध्यान खिच्यो । अहिलेपनि ति जोडीका बारेमा उनी अपडेट छन् । अन्तरजातिय विवाह गर्दा उनले ७५ वटै जिल्लाबाट जोडी छानेका थिए । विवाहको प्रभाव सबैतिर परोस् भन्ने उनको चाहना थियो । सबै जोडीलाई महिना दिन पुग्ने खाद्यान्न र आधारभुत आवश्यकताका उपभोग्य सामाग्री उपहार दिइएको थियो । फरक शैलीको विवाहले फरक सन्देश दिएको उनको अनुभव छ ।

धर्म र राजनीति

‘शिबको नाममा राजनीति गर्ने र चुनाव लड्ने ?’ उनलाई यस्ता प्रश्न आइरहन्छन् । उनको जवाफ सरल छ, ‘धर्म भनेको मन्दिरमा पूजापाठ गर्नुमात्र होइन । समाजको विकास गर्नु हो । नैतिकवान र असल चरित्रले सेवा गर्नु हो । समाज बदल्ने सबैभन्दा उच्च विधि भनेको राजनीति हो ।’ शिबसेना नेपालको नेता भइसकेपछि उनले सादा जीबनमा जोड दिन थाले । खाइपिइमा नियन्त्रण गरे । मद्यपानबाट अलग भएका छन् । आफुले गर्ने अतिरिक्त खर्च कटौती गरेर पार्टीमा लगानी गरेका छन् । हिजो व्यवसायमा गरेको लगानीपनि पार्टी काममै प्रयोग भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘परिवर्तन आफैंबाट शुरु गनुपर्छ । म मस्ती गर्छु अरु सदाचारी बन्नुपर्छ भन्नु ढोंग हो ।’ उनको पार्टीले कहिले बहुमत पु¥याएर कहिले समाज परिवर्तन गर्ने कुनै ठेगान छैन । तर, उनमा आत्मविश्वास देखिन्छ । उनी भन्छन्, ‘जसले जे जिम्मेवारी लिएको छ, त्यो राम्रोसंग पूरा गर्यो भने उसले धर्म गरेको ठहरिन्छ ।’ उनी कर्म र धर्मलाई एकै सिक्काका दुई पाटाका रुपमा अथ्र्याउछन् ।

अधर्मी कमल थापा

कमल थापाको राप्रपा नेपाल र अनिल बस्नेतको शिब सेना नेपालका एजेण्डा उस्तै सुनिन्छन् । दुबैको अभिव्यक्तिपनि एकै लाग्छ । ‘त्यसो भए कमल थापासंग किन एकीकरण नगरेको त ?’ नेपालआजको प्रश्नमा उनी कडा रुपमा प्रस्तुत भए, ‘ अधर्मी कमल थापा र हाम्रो तुलना हुन सक्दैन ।’ ‘धर्म बचाउंने अभियानमा लागेको बताउंने थापा कसरी अधर्मी ?’ अनिल बस्नेतले प्रष्टाए, ‘धर्मले अवसरवादको विरोध गर्छ । थापा अवसरवादी हुन् । उनी गणतन्त्र र धर्मनिरपेक्षता कार्यान्वयन गर्ने सरकारको मन्त्री बनेका छन् जुन कुराको उनी विरोध गर्छन् । धर्ममा आफु जे हो त्यही रुपमा प्रस्तुत हुनुपर्छ । बहुरुपी छन् कमल थापा । उनी ऐजेण्डा धर्मनिरपेक्षता र गणतन्त्र लिन्छन् ।

सरकारमा जान्छन् । सरकारमा बसेरपनि आफ्नो दायित्व पूरा गर्दैनन् । संविधानको विरोध गर्छन् ।’ अनिल बस्नेतका शब्दमा कमल थापा राजनीतिका शिकारी हुन् । एजेण्डा हात्तीका देखाउंने दांतमात्र हुन् । धर्ममा लागेको व्यक्ति भ्रष्टाचारबाट टाढा रहनुपर्ने अनिल प्रष्ट गर्छन । उनी भन्छन्, ‘राप्रपा नेपाल पूरै भ्रष्टाचारमा लिप्त छ । कर्मचारीको खटनपटन गर्दा समेत मोटो रकम लिएको तपाईहरुले जानेकै कुरा हो ।

धर्मको नाममा राजनीति गर्ने तर सत्तासंग सौदाबाजी गर्ने र भ्रष्टाचार गर्ने कमल थापा अधर्मी हुन् ।’ शिब सेना नेपालले जति नै सुद्ध हुं भनेपनि सो पार्टीको पछाडि उतिसारो मान्छे लागेका छैनन् जति राप्रपा नेपालको पछि छन् । यि सबै सन्दर्भ सुनिसकेपछि उनले जवाफ फर्काए, ‘अवसरबाद एउटा जाल हो । जहां मान्छे फस्दछन् । तर अवसरबाद कमजोर प्रवृत्ति हो जो छिट्टै सतहमा आउंछ । हिजो र आजमा कमल थापाको असलीरुप धेरै देखिइसकेको छ ।’

anil bashnet saye jodi aantarjatiya biye siva sena nepal

विशेष