अस्थायी शिक्षकद्वारा विद्यालय बन्द
असार - १२ । स्वतः स्थायी हुनुपर्ने माग गर्दै महोत्तरीका अस्थायी शिक्षकहरुले आज जिल्लाका सामुदायिक विद्यालय बन्द गराएका छन् । तेस्रोचरणको आन्दोलनअन्तर्गत उनीहरुले एक दिनका लागि जिल्लामा रहेको सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
शिक्षा विधेयक आठाैँ ऐन संशोधनमा राखिएको अस्थायी शिक्षक सम्बन्धी बुँदाको विरोध गर्दै आइरहेको शिक्षकले प्रक्रिया पूरा गरी अस्थायी शिक्षकलाई स्थायी गर्न र सर्वोच्च अदालतको परमादेश लागू गर्न माग गर्दै देशभर नै आन्दोलनको कार्यक्रम गर्दै आइरहेको अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष राधेश्याम झाले जानकारी दिए । आजको बन्द कार्यक्रमलाई जिल्लामा रहेका नेपाल शिक्षक सङ्घ, नेपाल राष्टिय शिक्षक सङ्गठनलगायतका विभिन्न सङ्घ सङ्गठनले समर्थन गरेको अध्यक्ष झाको दाबी छ ।
महोत्तरीमा प्राथमिकतर्फ १६८, निम्न माध्यमिकतर्फ ५१ र माध्यमिक तह तर्फ ४६ गरी २६५ जना स्थायी शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीको तथ्याङ्क छ ।