ताजा खबर पर्यटन News

लुक्ला विमानस्थल १२ दिन देखि ठप्प यात्रुलाई सास्ति

लुक्ला विमानस्थल १२ दिन देखि ठप्प यात्रुलाई सास्ति

Lukla

काठमाडौं, असार १३ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा विगत १२ दिनदेखि हवाई उडान ठप्प हुँदा पर्यटकहरूले सास्ती पाएका छन् । निरन्तर झरी र कुहिरोले विमानस्थल ढाकेपछि ११ दिनदेखि एउटा पनि उडान हुन नसकेको हो । मौसम खुल्ने संकेत नदेखिएपछि पर्यटकहरू लुक्लादेखि तीन दिनसम्म हिँडेर सदरमुकाम सल्लेरी आई गाडीमार्पmत काठमाडौं जान लुक्लाबाट हिँडेका छन् । लुक्लामा अहिले झन्डै दुई सातादेखि काठमाडौं जान नपाएर रोकिएका विभिन्न देशका २०० भन्दा बढी पर्यटकहरू छन् ।

मौसम खुल्ने र जहाज आउने आशामा १२ दिनसम्म बसेका पर्यटक र तीनका पथप्रदर्शकहरू अहिले निराश भएर काठमाडौं फर्कने विकल्पमा पैदल यात्रालाई रोजेका हुन् । सगरमाथा क्षेत्र खुम्बु भ्रमणका लागि आएका पर्यटक लुक्लाबाट जहाजमार्फत काठमाडौं जाने गर्छन् । तर, निरन्तरको मौसम खराबीले उनीहरू लुक्लामै रोकिएका हुन् । लामो समयदेखि होटलमा बस्नु परेपछि सीमित खर्च बोकेर आएका र आफ्नो देश जान काठमाडौंबाट टिकटसमेत बुक गरिसकेका पर्यटकहरू बढी मारमा परेको लुक्लास्थित पर्यटन प्रहरीका प्रहरी नायव निरीक्षक भानुभक्त नेपालले बताए ।

Lukla Lukla Airport

विशेष