News

के संभव होला त मंसीरमा स्थानीय निकायको निर्बाचन ?

के संभव होला त मंसीरमा स्थानीय निकायको निर्बाचन  ?

काठमाडौ, १३ असार । सरकारले डेढवर्षभित्र तीनवटा निर्वाचन गर्ने गरी ल्याएको कार्ययोजनामा दलहरुवीच एक मत बन्न नसकिरहेका बेला निर्वाचन आयोगले भने आफू निर्वाचन गराउन तयार भएको जनाएको छ ।

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुवीच आज भएको छलफलमा आयोगले आफू जहिले पनि निर्वाचन गर्न तम्तयार भएर बसेको स्पष्ट पारेको हो । सरकारले आवश्यक ऐन पारित गराए कार्तिक अन्तिम वा मंसिरमा स्थानीय निकायको निर्वाचन गराउन सम्भव रहेको आयोगले बताएको हो ।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानूनमन्त्री अग्नी खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, प्रधानमन्त्रीका सल्लाहकार र मुख्य सचिवको सहभागिता रहेको थियो भने निर्वाचन आयोगको तर्फबाट कायम मुकायम प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवसहित आयूक्तहरु सहभागि थिए ।

छलफलपछि यादवले निर्वाचन आयोग सधै निर्वाचनको लागि तयार रहेको भन्दै सरकारले निर्वाचनको लागि आवश्यक कानूनहरु उपलब्ध गराए निर्वाचन गर्न सकिने स्पष्ट पारे । उनले स्थानीय निकायको निर्वाचन गर्ने भए स्थानीय निकाय निर्वाचन ऐन २०४८ मा संसोधन र स्थानीय तहको निर्वाचन हुने भए स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, विद्युतीय निर्वाचन सम्बन्धि ऐन र पुर्नसंरचना आयोगको प्रतिवेदन आयोगलाई उपलब्ध गराउनु पर्ने बताए ।

उनले छलफलको क्रममा निर्वाचनको मितिको विषयमा समेत कुराकानी भएको बताए । कानून मन्त्री अग्नी खरेलले निर्वाचनको लागि आयोग तयार रहेको जानकारी दिदै सरकारले त्यसकोलागि आवश्यक कानून तत्कालै संसदमा पेश गर्ने बताए ।उनले सरकारले सबै दलहरुसँग छलफल गरेर छिट्टै नै निर्वाचनको मिति समेत तोक्ने जानकारी पनि दिए ।

nirwachan aayog

विशेष