माओवादीले अझै फिर्ता गरेन कब्जा गरेको जग्गा
असार १४ । शसस्त्र जनयुद्ध समाप्त भएको एक दशक वित्न लाग्दापनि द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन । संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा रहेको छ । कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक–पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझै सम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका छन् । संखुवासभाको को स्याबुन ३ र ४ मा रहेको सुन्दर अलैची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी अझै पनि माओवादी कब्जामै छ ।
त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका छन् । चैनपुर १० का पीडित रामेश्वर श्रेष्ठले आफ्नो चैनपुर ८ भन्ज्याङखर्कमा ५० रोपनी खेत, २७ मुरी ठेक्का आउने धानखेती, जलजला ९ बाबुनमा आँप लिची र धानखेती, स्याबुन ५ कुसुवा डाँडागाउँमा धानखेती अझै कब्जामा रहेको बताए । आफूले राजस्व तिरेको र आफ्ना नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरे । चैनपुरका अन्य थुप्रै व्यक्तिको जग्गा अझै पनि माओवादी कव्जामा रहेको छ । माओवादीमा फुट आएको भएपनि ती जग्गाबाट व्यक्तिले आम्दानी लिदैँ आएका छन् । उनीहरुले दोषीलाई कारबाही गरि तत्काल आफ्नो जग्गा फिर्ता गर्न आग्रह गरेका छन् । अन्नपूर्ण पोष्ट
Maosit