उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन
उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहभागी एक कार्यक्रममा सरकारी विद्यालयका विद्यार्थीले ‘भारतले जे भन्यो त्यही मान’ भन्दै गीत गाए । रायमाझीको गृहजिल्ला अर्घाखांचीको जनज्योती विद्यालयका विद्यार्थीले भारतीय राजदुत रन्जित रेसमेत सहभागी कार्यक्रममा सो गीत गाएपछि भारतीय दुतावासबाट सोझै हुने लगानी थप विवादमा परेको छ । सूर्यबहादुर थापा नेतृत्वको प्रधानमन्त्रीत्व कालमा कमल थापा दोस्रो बरियताका मन्त्री थिए । सोही मन्त्रिपरिषद्ले भारतीय दुतावासलाई उसैको ईच्छा बमोजिम ३ करोडसम्म कुनै ठाऊं विशेषमा लगानी गर्न दिने निर्णय गरेको थियो । बाबुराम भट्टराईको कार्यकालमा सो रकम बढाएर ५ करोड पुर्याइयो । मन्त्री थापाले सो निर्णयबाट आफुलाई आत्मग्लानी भएको र दुतावासबाट देशमा समानान्तर सरकार संचालन भइरहेको प्रष्ट गरेका थिए । उपप्रधानमन्त्री बन्नुभन्दा ठीक एक बर्षअघिको अन्तवार्तामा उनले सो गम्भीर गल्ती सच्याउनुपर्ने बताएका थिए । तर, अहिले मौन छन् । उपप्रधानमन्त्री रायमाझीका सामुन्नेमा गाइएको भारतभक्तिको गीतको भिडियो र उपप्रधानमन्त्री थापाको अन्र्तवार्ताको भिडियो लिएर हामी देशभक्तको छबि बनाएका अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीकोमा पुग्यौं । उनले बर्तमान मन्त्रिपरिषद्मा समेत भारतका दलाल रहेको प्रतिक्रिया दिए । भारतले नेपाललाई टुक्राउन रणनीति बनाएको ठोकुवा गरेका केसीले रणनीतिका बारेमा विस्तृतमा व्याख्या गरे । उनी भन्दैथिए, ‘गए जाने पद र ज्यान हो । दुबैको मलाई प्रवाह छैन ।’
यसरी टुक्राउंदैछ देश
केसीले उपप्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै एक टेलिभिजन अन्र्तवार्तामा भारतले नेपाल टुक्राउन चाहेको अभिव्यक्ति दिएका थिए । भारतीय दुतावासले समेत खेद प्रकट गरेको अभिव्यक्तिप्रति तपाईलाई आत्मग्लानी छ ? नेपाल आजको प्रश्नमा उनले जवाफ फर्काए,‘आत्मग्लानी होइन, आत्मगौरब छ ।’
उपप्रधानमन्त्री केसी अझ अगाडि बढ्दै भने, ‘भारतले नेपाल टुक्राउन चाहेकोमा दुईमत छैन । कसैले नबुझेको छ भने उ भन्दा मुर्ख अरु को होला ?’
उनीसंग आधार सोधियो । उनले मन्त्री भइसकेपछि भारतले नेपाल टुक्राउन चालेका थप कदमका बारेमा आफु जानकार भएको जनाए । नेपालको तराई भुभागलाई पहिले नेपालबाट अलग गर्ने भारतको योजना रहेको उनको भनाइ छ । नेपालबाट तराई अलग गरेपछि सो भुभाग आफ्नोमा गाभ्ने भारतको योजना रहेको सनसनीपूर्ण अभिव्यक्ति उनले दिएका छन् । अहिले बनेको २ नम्बर प्रदेश भारतीय भूमी बन्ने खतरा उनले अन्तवार्ताका क्रममा स्पष्ट गरेका छन् ।
[embed]https://youtu.be/5fBNqqWkKDg[/embed]
देश टुक्राउन दलाल र जमिन्दारको सहारा
उनले संविधान जारी भएपछिका दृश्यबाट देश कसरी टुक्राइदै छ भन्ने प्रष्ट भएको दाबी गरे । भूमीसुधारको भू पनि सुन्न नचाहने तर मधेशी जनताको अधिकारको कुरा गर्ने जमिन्दार र दलालहरुलाई प्रयोग गरेर समथर भुभाग टुक्राउन खोजिएको उनको आरोप छ । पहिले भुभाग अलग गर्ने र त्यसपछि त्यहांको जल जमिन र जङ्गलको दोहन गर्ने भारतीय योजना रहेको उनले प्रष्ट गरे । संविधान निर्माण भएपछि प्रत्यक्ष निर्वाचित सभासद्लाई पूर्वी तराईमा जान निषेध गरेर विभाजनको पूर्वअभ्यास गरिएको उनको भनाइ छ ।
[embed]https://youtu.be/Ib39eeKszUc[/embed]
भारतीय दुतावासको सोझो लगानी, देश टुक्राउने अश्त्र
भारतीय दुतावासले गर्दै आएको सोझो लगानीलाई उनले देश टुक्राउने औजारका रुपमा अर्थाएका छन् । उनले भने, ‘भारतमा जनता चर्पी नभएर खुला आकाशमुनी सौच गर्न बाध्य छन्, यहां विकासका नाममा कनिका छर्दै हिड्छन् । हाम्रो मायाले हो र ? आफ्नो स्वार्थसिद्ध गर्न हो ।’ उनले भारतीय दुतावासलगायतका लगानीकर्तालाई आफुखुशी बजेट छर्न दिन नहुने स्पष्ट गरे । आफुले यसअघि नै मन्त्रिपरिषद्मा कुरा उठाएको भएपनि सोबारेमा निर्णय हुन नसकेको उनको भनाइ छ । दुतावासको आफुखुशी लगानी रोक्न आफुले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले वाचा गरेका छन् ।
[embed]https://youtu.be/l67TSfUc_2M[/embed]
रायमाझी र थापाको व्यवहार
उपप्रधानमन्त्री टोपबहादुर रायमाझीकै सामुन्नेमा विद्यार्थीले भारतले जे भनेपनि मान्नुपर्ने भनेर गीत गाए । थापा यसअघि मन्त्री हुंदा दुतावासलाई सोझै लगानी गर्न दिने निर्णय भएको थियो । पछि उनले सो निर्णय देशका लागि गम्भीर भएको स्विकार गरेका थिए । अहिले सो निर्णय सच्याउने बारेमा आइनोसाइनो लिएका छैनन् । दुबै भिडियो हेरेका उपप्रधानमन्त्री केसीले अहिलेको मन्त्रिपरिषद्मा पनि दलाल रहेको जनाए । उनले भारतलाई खुशी नपारी सांसदमन्त्री भइदैन, भएपनि टिकिदैन भन्ने मानसिकताको उपजका रुपमा रायमाझी र थापाको सन्दर्भलाई अर्थाए । उनले रायमाझीकै सामुन्नेमा विद्यार्थीले सो गीत गाएर ठीक गरेको जनाए । जस्तालाई तस्तै गीत सुनाएर विद्यार्थीले व्यंग्य गरेको उनको भनाइ छ । देशैभरि लगानीका नाममा भारतले गुलामी मानसिकता विस्तार गरिरहेको भन्दै उनले दुतावासको मनलाग्दी लगानी र योजना रोक्नुपर्नेमा जोड दिए ।
[embed]https://youtu.be/UXPWjcw2_pE[/embed]
कांग्रेसले केसीको राजिनामा मागेको सन्दर्भमा
‘तपाई मन्त्री भएरपनि संविधानको विरोधमा अन्टसन्ट बोल्नुहुन्छ भनेर कांग्रेसले राजिनामा मागेको छ नी ?’ यो प्रश्नको उत्तर दिंदैगर्दा केसीले माछा र पानीको उदाहरण दिए । सत्ताबाहिर हुंदा कांग्रेस पानीबिनाको माछाजस्तै फिटिफिटी परेको बताए । भारतको लहैलहैमा लागेर कांग्रेसले सहमति तोडेको बताएका केसीले कांग्रेस ‘तेल दिदा नखानेले कोल चाटेजस्तो’ अवश्थामा पुगेको भन्दै व्यंग्य गरे ।
उनले संघीयताले देश टुक्राउने भएकाले आफुले संघीयताको विरोध गरेको जनाए । देशभन्दा ठूलो अरु केही हुन नसक्ने भन्दै उनले पदमा बसेकै कारणले आफुले असत्य बोल्न नसक्ने प्रष्टिकरण दिए ।
[embed]https://youtu.be/n8GF-iXrD9k[/embed]
मन्त्री क्वार्टरको बसाइ
चित्रबहादुर केसी काठमाडौं बस्न थालेको बर्षौ भइसक्यो । तर, उनी भाडाको घरमै निर्भर रहे । मन्त्री भएपछि उनी क्वार्टरमा बस्न थालेका छन् । बत्ति पानीको दुःख खेपिरहेका केसीलाई अहिले हाइसन्चो छ । माइक्रोमा यात्रा गर्ने केसी झण्डावाल गाडीमा सररर् हुंइकिन्छन् । बुढाबुढीमात्र टुक्रुक्क बस्ने उनीसंग अहिले सहयोगीको टिम छ । अब त सुविधाभोगी भइयो नि ? भन्ने नेपाल आजको प्रश्नमा उनले भने,‘कस्ता कस्ता कुराले त छोएन, यस्ता सुविधाले मलाई विर्गादैन ।’ उनले भाडाको कोठा छोडेका छैनन् । मन्त्री फुत्केपछि सोझै पहिलेकै भाडाघरमा भित्रिने उनको योजना छ ।
[embed]https://youtu.be/z07pcAyaPOo[/embed]
Chitra Bahadur KC
india to divide nepal
interview with chitra bahadur kc