ताजा खबर News

संसद् बैठक बुधबार बस्ने गरी स्थगन

संसद् बैठक बुधबार बस्ने गरी स्थगन

असार - १४ । व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ । 

Samsad vabanभूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबीच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो । आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साँझ ५ः३० का लागि सारिएको थियो ।

संसद् सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार विशेष कारणवश संसद्को बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको उल्लेख छ । प्रमुख राजनीतिक दलका नेता सम्मिलित कार्यदलले अनुदान रकमको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगन भएको नेकपा(एमाले)का सांसद गङ्गालाल तुलाधरले जानकारी दिए । अवरुद्ध सदन खुलाउने विषयमा सहमति जुटाउन अहिले प्रमुख दलका शीर्ष नेताको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । भूकम्पपीडितलाई एकमुष्ट राहत दिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । 

बिहान बसेको कार्यदलको बैठकमा कुनै निष्कर्ष ननिस्केपछि सहमति कसरी जुटाउने भन्ने विषयमा समग्रमा छलफल गर्नुपर्ने निष्कर्षका साथ नेताहरु संवादमा जुटेका हुन् । बैठकमा नेकपा(माओवादी) केन्द्रले भने प्रमुख सत्तारुढ दल नेकपा(एमाले) र नेपाली काँग्रेस दुवैलाई मनाउने गरी तत्काल रु दुई लाख र पछि किस्तामा रु एक लाख गरी कुल रु तीन लाख दिने गरी नयाँ प्रस्ताव अगाडि सारेको छ । कार्यदलको बैठकमा माओवादीका नेता कृष्णबहादुर महराले उक्त प्रस्ताव राख्नुभएको हो । तर एमालेले भने दातृ निकायसँग अघिल्लो सरकारले गरेको सम्झौताबमोजिम एकमुष्ट रुपमा अनुदान रकम दिन नसकिने जनाउँदै आएको छ । रासस

Samsad

विशेष