संविधानले संघीय गणतन्त्र स्थापितः मोदी
असार १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन् । दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको ’नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष’ नामक ई–पुस्तकमा उक्त कुरा राखिएको छ । हरेक मुलुकसँगको सहकार्य र घटनालाई जोडेर राखिएको उक्त पुस्तकमा नेपालसँगको सम्बन्धसमेत दुई पृष्ठको छुट्टै च्याप्टरका रुपमा छ ।
नेपाल भारत सम्बन्ध हिमाल र गंगाको जस्तै पुरानो रहेको मोदीको अभिव्यक्तिसमेत त्यसमा छ । छिमेकीसँगको सम्बन्धलाई जोड दिइएको उक्त पुस्तकमा अफगानिस्तान र भुटानपछि नेपाललाई राखिएको छ। यसलाई परराष्ट्र मन्त्रालयले भारतको सकारात्मक पक्षका रुपमा लिएको छ । ‘असोजमा जारी संंविधानले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा स्थापित भएको छ । यसैले नेपालको बहुपक्षीय संवैधानिक लोकतन्त्र बलियो हुँदै गएको छ,’ पुस्तकमा उल्लेख छ ।
कान्तिपुर दैनिक
India Narendra modi nepal