ताजा खबर News स्वास्थ्य

डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द

डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द

daktar

असार १५ । डाक्टरले मागेजति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ । मासिक दुई लाख रुपैयाँ दिने सर्तमा ल्याइएका डा. सुनील शाहले थप ५० हजार मागेपछि अस्पतालले दिन नसक्दा सेवा नै बन्द भएको हो । गत वर्ष मंसिरमा नियुक्त गरिएका डा. शाहले वैशाखबाट काम छाडेको अस्पतालले जनाएको छ । डाक्टरले काम छाडेर गएपछि जिल्ला अस्पतालले शल्यक्रिया सहितको गम्भीर प्रकृतिको प्रसूति गराउन सकेको छैन । यसअघि पनि डाक्टरको अभावमा पटक–पटक सेवा बन्द भएको थियो । डा. शाहले आफू कामका लागि आएको र पैसाको मुख नहेर्ने सार्वजनिक कार्यक्रममै भनेका थिए ।

नियुक्त भएको सात महिना नहुँदै उनी काम छाडेर हिँडेका हुन् । जिल्ला अस्पतालमा महिनामा ६० जनासम्मले प्रसूति गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रसूति गराउन आउनेमध्ये दुईदेखि तीनजनाको शल्यक्रिया हुने गरेको जनस्वास्थ्य प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए । जिल्ला अस्पतालमा प्रसूति सेवा बन्द भएपछि बाहिर उपचार गराउनेको संख्या बढेको जिल्ला जनस्वास्थ्य प्रमुख झाको भनाइ छ ।

जिल्लामा सामान्य प्रसूति सेवा हुने भए पनि उपचार हुन नसक्ने बिरामीलाई जिल्ला अस्पतालले अन्यत्र रेफर गर्ने गरेको छ । तर, वर्षाको कारण समयमा हवाई उडान नहुँदा बिरामी निकै कष्टकर सडकयात्रा गर्न बाध्य छन् । त्यसमाथि पनि लेगुवा–भोजपुर सडक वर्षात र निर्माणका कारण अवरुद्ध भएपछि बिरामी तथा बिरामीका आफन्त दोहोरो मारमा परेका छन् । त्यसो त भोजपुरमा शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएको लामो समयसम्म भोजपुर आउने डाक्टर नै पाइएको थिएन ।

जिल्ला स्वास्थ्य कार्यालयले तीनपटकभन्दा बढी सूचना प्रकाशन गर्दा पनि कोही नआएपछि तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख नरेन्द्र झाले आफ्नै पहलमा प्रसूति डाक्टर ल्याएका थिए । ती डाक्टर पनि पाँच महिनाभन्दा बढी बसेनन् । करिब ६ वर्षअघि सुरु भएको शल्यक्रियासहितको प्रसूति सेवामा हरेक वर्षजसो डाक्टर फेरिने गरेका छन् । तलबभत्तामा कुरा नमिल्दा कुनै पनि डाक्टर एक वर्षसम्म पनि बसेका छैनन् । कतिपय डाक्टर मुस्किलले ६ महिना बसेका छन् भने कतिपय त नियुक्ति लिएर ३ महिना नबित्दै जाने गरेका छन् । डाक्टर हुँदा पनि लामो समय बिदा बसिदिने कारण पनि सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । भोजपुर दुर्गम भएको र अन्य काम गर्न नपाउने कारण जागिर छाडेर जाने गरेको जिल्ला अस्पतालका एक कर्मचारीले बताए नयाँ पत्रिका

bhojpur nepal Nepali Doctor

विशेष