बाग्मतीमा अाएकाे बाढीले विद्युतीय शवदाह यन्त्र बन्द

असार - १५ । बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सोमबारको अविरल वर्षाले बाग्मतीमा बाढी आई पशुपति तिलगङ्गाास्थित नदी किनारमा रहेको शवदाह गृहमा पानी पस्दा यन्त्र बिग्रिएको कोषले जनाएको छ ।
कोषले विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृहमा शव जलाउन सुरु गरेको थियो । बाढीका कारण पहिलोपटक यन्त्र बिग्रिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । “शवदाह यन्त्र बनाउने काम भइरहेकाले केही दिनमै सञ्चालनमा आउँछ” – उनले । उनका अनुसार अहिलेसम्म विद्युतीय शवदाह गृहमा एक हजार ८०० शव जलाइसकिएको छ । रासस