माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने उपप्रधानमन्त्री केसीको प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्विकार (भिडियो सहित)

माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाल आफैंले बनाउनुपर्ने भनि मन्त्रिपरिषद्मा राखिएको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेको तथ्य नेपालआजले पत्ता लगाएको छ । अत्यन्त सस्तो मूल्यमा बनाउन सकिने सो परियोजना भारतीय कम्पनीलाई दिनुको साटो नेपाल आफैंले बनाउनुपर्ने उपप्रधानमन्त्री चित्रबहादुर केसीकोे प्रस्ताव प्रधानमन्त्री ओलीले अस्विकार गरेका हुन् । नेपाल आजसंग कुरा गर्दै केसीले नेपालीको पूंजीले धान्न सक्ने, सस्तो र सहज हिसावले बनाउन सकिने सो परियोजना विदेशीलाई दिनु राष्ट्रघात भएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीसंग आफुले सोका बारेमा पटकपटक कुरा गरेपनि ओलीले अस्विकार गर्दै आएको केसीको भनाइ छ ।
सुशील कोइराला प्रधानमन्त्री हुंदा २०७१ साल असोज ३ गते नेपाल लगानी बोर्ड र भारतीय कम्पनी गान्धी मल्लिकार्जेल राव (जिएमआर)का बीचमा परियोजना निर्माणका लागि सहमति भएको थियो । निर्माण सम्झौतामा हस्ताक्षर हुंदा ओली आफैंपनि उपस्थित थिए । आफैं उपस्थित भएर गरेको सम्झौता रद्द गर्न प्रधानमन्त्री ओलीलाई सहज नहोला भन्ने जिज्ञाशामा उपप्रधानमन्त्री केसीले भने, ‘राष्ट्रघात आफ्नै उपस्थितिमा भएको रहेछ भने त्यो सच्चाउने आफू ठाऊंमा हुंदा हो । यो वहांको लागि मौका हो । मैले भनेको भन्यै छु । किन सुनिएन मैले भन्न सक्ने कुरा भएन ।’
के हो माथिल्लो कर्णाली परियोजना
९०० मेघावाट क्षमताको माथिल्लो कर्णालीले सुर्खेत, दैलेख र अछामका १८ वटा गाविस ओगट्दछ । यसका लागि १ खर्ब ४० अर्ब रुपैयां लाग्ने आंकलन गरिएको छ । यति ठूलो परियोजना निर्माणका लागि यो रकम धेरै नभएको जानकारहरु बताउंछन् । जलविद्युत परियोजनाका लागि खोलिएका सेयरमा नेपालीबाटै अरबौ रुपैयां उठ्ने गरेको छ । सरकार र जनताको साझेदारीमा सो परियोजना निर्माण गर्दा आर्थिक र व्यवश्थापकिय चुनौति नेपाल आफैंले सामाना गर्ने जानकारहरुको भनाइ छ । जिएमआरले दुई बर्षभित्र लागत अनुमान बराबरको रकम अर्थात झण्डै डेड अर्ब डलर संकलन गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । २ बर्ष पुग्नै लागेपनि अहिलेसम्म प्रयाप्त रकम संकलन हुने स्थिति नरहेको बताइन्छ । सो परियोजना २०२१ भित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । १२ प्रतिशत विजुली नेपालले निशुल्क पाउनेछ । आयोजनासंगै जिएमआरले भारतसंग जोड्ने १ सय ८ किलोमिटर प्रशारण लाइन र आयोजनाले तल्लो तटमा सिंचाइ प्रभावित नपारोस् भनेर रिरेगुलेटिङ ड्याम बनाइदिने सम्झौतामा उल्लेख छ । संचालनमा आएको २५ बर्षपछि सो आयोजनाको स्वामित्व पूर्णरुपमा नेपालको हुनेछ ।
किन नेपाल आफैंले बनाउनुपर्ने ?
उपप्रधानमन्त्री केसी भन्छन्, ‘आफैंले गर्न सक्ने भएपछि अरुलाई किन दिने ? हामीले गर्न नसक्ने परियोजना दिए भैहाल्यो नि ?’ माथिल्लो कर्णाली परियोजनामार्फत भारतले कर्णाली नदी र तल्लो तटीय भुभागमा नियन्त्रण स्थापित गर्न खोजेको आलोचकहरुको बुझाइ छ । माथिल्लो कर्णालीमा भारतले विशेष लगाव राख्दै आएको छ । पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर प्रा डा. हरिप्रसाद पण्डितका अनुसार यो परियोजना संसारकै सस्तो जलविद्युत परियोजना हो । माथिल्लो कर्णाली आयोजना विश्वकै सबभन्दा आकर्षकमध्येको आयोजना पनि हो । अर्को यत्तिकै आकर्षक आयोजना दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा मात्र रहेको बताइन्छ ।
विश्वमा ब्राजिल, भारत, चीनलगायतका जलविद्युतको प्रचुर सम्भावना भएका मुलुकमा पनि यस्तो लोभलाग्दो परियोजना उपलब्ध छैन । प्रकृतिले नै धेरै आधार मिलाइदिएको र कृतिम निर्माणमा धेरै दुःख गर्न नपर्ने खालको परियोजनाका रुपमा माथिल्लो कर्णालीलाई लिइन्छ । विज्ञहरुको अनुसार यो आयोजनास्थलको पूर्ण क्षमता ४ हजार १ सय ८० मेगावाट हो । एक पटक यो आयोजनास्थलमा ९ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिएपछि पूर्ण क्षमताको बहुउद्देश्यीय आयोजना निर्माण गर्ने मौका सदाको लागि अन्त्य हुने बताइन्छ । कर छुटमा पनि चलखेल भएको आरोप आलोचकले लगाउने गरेका छन् ।
महाकालीकै नियती
महाकाली सन्धी गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । प्रमुख प्रतिपक्ष दल थियो नेकपा एमाले । एमाले अध्यक्ष मनमोहन अधिकारी बिरामी भएर अस्पतालमा भर्ना गरिएका थिए । एमाले उग्र प्रतिपक्ष थियो र महाकाली सन्धीका बिरुद्धमा एमालेभित्र आगो ओकल्ने ठूलो पंक्ति थियो । तत्कालिन महासचिव माधबकुमार नेपाललाई सन्धीको समर्थनका लागि केपी ओलीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । सन्धी पारित हुनुभन्दा १ दिन अघिसम्म एमालेभित्र सन्धीका विरुद्धमा बहुमत भएपनि रातारात पक्ष र विपक्षमा हाराहारी मत पुग्यो । सोही विषय बल्झदै जांदा एमाले विभाजित भयो । महाकाली सन्धीको विरोध व्यापकरुपमा भएपछि ओलीले भनेका थिए, ‘महाकालीबाट विजुली निकालेर स्याटलाइटबाट बेचिन्छ । बगेर भारतै जाने पानी रोकेर राख्छु भन्ने मूर्खहरुसंग के कुरा गर्नु ।’
महाकाली सन्धी भएपनि स्याटलाइटबाट केही बेच्न सकिएन । एमाले उपाध्यक्ष बामदेब गौतमका शब्दमा बेचिएको महाकाली नदीमात्रै हो । अहिले अपर कर्णालीको स्थिति त्यस्तै हुने हो की भन्ने चिन्ता व्याप्त छ । ठाऊंठाऊंमा सो परियोजना नेपाल आफैंले बनाउनुपर्ने भन्दै अभियान नै थालिएको छ । समयमा जिएमआरले पनि पूरा नगर्ने, नेपाल आफैंले बनाउने हिम्मतपनि नगर्ने हुंदा परियोजना झन्झन् धकेलिने सम्भावना बढ्दो छ ।
र योपनि,
► उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन (भिडियो सहित)
chitra bahadur kc proposal kp oli rejecting cs's proposal upper karnali