दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ
असार - १६ । कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो ।
पर्साको सुर्जाहा गाविस–८ निवासी प्रभु सहनी मलाहको हत्याको अभियोगमा १६ वर्षदेखि फरार रहँदै आएका सुर्जाहा–८ कै दशई सहनी मलाह र नन्दलाल सहनी मलाहलाई प्रहरीले गए राति उनकै घरबाट पक्राउ गरेको छ । सहनी हत्याको अभियोगमा फरार रहेका अभियुक्तद्वय दशई र नन्दलाल घरमा लुकीछिपी बसेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
ती दुई अभियुक्त प्रभु सहनीको हत्यापछि भारतका सीमावर्ती क्षेत्रमा लुक्दै बस्दै आएका थिए । घरमा सुतिरहेका प्रभु सहनीको २०५७ साल भदौ १० गते गोली हानी हत्या गरेको अभियोगमा दशई र नन्दलाल विगत १६ वर्षदेखि फरार रहँदै आएको उपरीक्षक बोगटीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने कर्तव्य ज्यान मुद्दामा दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भएको प्रवक्ता बोगटीले बताए । रासस