चाडका २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित, युनिसेफ चिन्तित
असार १६ । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले मध्यअफ्रिकी मुलुक चाडमा बालबलिकाको अवस्था गम्भीर भएको भन्दै यसका लागि सहयोग पुर्याउन सबैलाई आग्रह गरेको छ । चाडमा करिब २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित रहेको बताइएको छ । यो अवस्था अत्यन्तै दयनीय हो भन्दै यसका लागि सबैको ध्यानकर्षण गराएको हो । चाडका लागि युनिसेपफका प्रतिनिधि गियानलुका फ्लामिग्नीले बालबालिकालाई आवश्यक पर्ने आधारभूत वस्तुको पनि यहाँ निकै खाँचो परेको जानकारी दिए । उनले भने– यहासम्म कि बालबालिकाका लागि खाद्यान्न, पोषणलगायतका आधारभूत वस्तुको पनि गम्भीर मानवीय सङ्कट रहेको छ । अहिलेको शताब्दिमा पनि खाद्यान्न, पोषण तथा बसोबासको समस्या बालबालिकामा आउनु दुखद हो भन्दै युनिसेफले यसका लागि मुलुकमा व्याप्त द्वन्द्व जिम्मेवार भएको जनाएको छ । यस प्रकारको समस्यालाई बेलैमा सम्बोधन गर्न सम्बद्ध सबैले सचेत नबनेमा स्थिति भयावह हुने भन्दै युनिसेफले समस्या समाधानका लागि यथासम्भव पहल गर्न सबैको ध्यानाकर्षण गराइएको बताएको छ ।