छोराबुहारीको कचकच सहन नसकेर बाबुअामाद्वारा बिष सेवन
असार - १६ । डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ । छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ । विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । घरमा छोराबुहारीसँगको मनमुटावपछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छोराबुहारीले सधैँ मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । उनीहरुले मुसा मार्ने आषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफाँटका प्रहरी नायब निरीक्षक करवीर ऐरले जानकारी दिनुभयो । पछिल्लो समयमा डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । रासस