ताजा खबर News समाज

६ महिनामा ५५५ मानवाधिकार उल्लङ्घनका घटना

६ महिनामा ५५५ मानवाधिकार उल्लङ्घनका घटना
जेठ - १६ । मध्यमाञ्चल क्षेत्रमा पछिल्लो छ महिनामा ५५५ मानवाधिकार उल्लङ्घनका घटना भएको एक अध्ययनले देखाएको छ । 
 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मध्यमाञ्चल क्षेत्रका ‘मानवाधिकार उल्लङ्घन अवस्था’ विषयको अन्तक्र्रियामा ती घटनामा ५९४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले प्रतिवेदन सार्वजनिक गर्दै मध्यमाञ्चलका १९ वटै जिल्लामा गत पुस महिनादेखि यही असार १५ गतेसम्म घटेका मानवाधिकार उल्लङ्घनको घटना रहेको उल्लेख गरे । 
 
अध्ययनअनुसार ती घटनामा हत्या, अपहरण, कुटपिट, बलात्कारको प्रयास, बोक्सी तथा बोक्साको आरोपमा हत्या, कुटपिट तथा अमानवीय व्यवहार, मानव बेचबिखन, बहुविवाह, महिला हिंसा तथा घरेलु हिंसा लगायत मानवाधिकार उल्लङ्घनका विषय छन् । सोही अवधिमा राज्यबाट तीन महिला र २६ पुरुष तथा गैरराज्य पक्षबाट ५४२ महिला र २३ पुरुष पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।  राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द पौडेलले कानुनको प्रभावकारी कार्यान्वयनको माग गर्दै मानवाधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई एकापसमा समन्वयका साथ काम गर्न आग्रह गरे ।
 
बेरोजगारी अशिक्षा, अज्ञान र गरिबीका कारणले गर्दा महिला तथा बालबालिका घटनामा बढी पीडित बनेको बताइएको छ । रासस

human rights

विशेष