पूर्वमन्त्री एंवम एमाले नेता कर्णको अत्तरियामा रामधुलाई, घाइते कर्ण सुटुक्क काठमाडौंमा
काठमाडौंबाट डोटीका लागि प्रस्थान गरेका एमाले नेता कर्णबहादुर थापाको दादागिरी बीचैमा चकनाचुर भएको जनआश्थामा उल्लेख छ । संसदको विधायन समितिले मुलुकी ऐन २०१९ लाई प्रतिस्थापन गर्न काठमाडौंबाट पठाएको १८ सदस्यीय टोलीका सदस्य एंव पूर्वमन्त्री थापा धनगडी पुगेपछि आफुखुशी हिडेका थिए । सभासद् अफिलाल उखेडा, एलबी रावल र कृपाराम रानासंगै भिन्दै समुहमा हिडेका थापाले अत्तेरियाको पहाड रोडमा रामधुलाइ भेटेका हुन् । श्रीमती कमलाका लागि सुकेको बदाम किन्ने क्रममा भाउ महङ्गो भएको भन्दै थापाले गणपति स्टोर्सको सोकेसको सिसा फुटाइदिए । मुड्कीले हानेर सोकेस फुटाउंदा उनको हात रगतपिच्छे भयो ।
मन्त्रीलाई नचिन्ने भन्दै सुरिएका कर्णसहितको समुहको चर्तिकलाका कारण त्यहां भीड जम्मा भइसकेको थियो । हातबाट रगत बगेपनि उनीप्रति दया देखाउने कोही भएन । उल्टा दादागिरी गर्ने मन्त्रीलाई हान भन्दै भीड कराउन थाल्यो । भीड जाइलाग्न थालेपछि परिस्थिति कर्णले सोचेभन्दा बिल्कुल फरक भयो । उनले रगत बगिरहेको हात जोर्दै माफी मागे । स्थानीय केही सज्जनले जुत्तामाला लगाऊ, कालोमोसो दलौं कुट्न चाहीं नकुटौं भन्दै थिए ।
प्रहरी आयो । एमालेका स्थानीय नेता आए । उनीहरुले पनि गल्ति भएको भन्दै माफी मागे । अन्ततः सोकेस फुटाएबापत १५ सय दिने गरी कुरा मिल्यो । श्रीमतीलाई बदाम किन्दा महाभारत निम्ताएका कर्ण पूर्व निर्धारित कार्यक्रममा गएनन् । नत श्रीमतीलाई सुकेको बदाम खुवाउने रहर नै पूरा भयो । रुझेको बिरालोजस्तो बनेका उनी अत्तरियाको एक अस्पतालमा उपचार गरी भोलिपल्टै अर्थात असार १३ गते हवाइजहाजबाट काठमाडौं फर्किए । सुशील कोइरालाको पालामा उद्योगमन्त्री रहेका थापालाई भ्रष्टाचारको आरोपमा मन्त्रीबाट बर्खास्त गरिएको थियो भनि जनआस्थाले लेखेको छ ।
Karna Thapa