अर्थ ताजा खबर News

नेपालमा कति छन् त रेडियोको संख्या...

नेपालमा कति छन् त रेडियोको संख्या...

Radio काठमाडौं, असार २२ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६सय ९७ वटा रेडियो सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिइसकेका छन् । हाल ५६३ नियमित सञ्चालनमा छन् । इजाजत लिएका ६९७ मध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र ३६ वटा रेडियोले इजाजत लिएका छन् । काठमाडौँमा रेडियोको अझै माग बढिरहेको मन्त्रालयले जनाएको छ ।

कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिएकोमा अधिकांश सञ्चालनमा छन् । २०६३ साल साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ । यो तथ्यलाई हेर्ने हो भने २०६२-०६३ पछि दश वर्षको अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा वृद्धि भएको हो । नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो ।

पछिल्लो पटक विराटनगर, सुनसरी, रुपन्देही, नेपालगन्ज, कैलाली, झापा, चितवन, धनगढी सुर्खेतलगायतका जिल्लामा रेडियोको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारीको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति इजाजत भने लिइएको छ । नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा अब रेडियो सञ्चालनभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र ढकालले रेडियो सञ्चालनका लागि इजाजत माग गरेको खण्डमा फ्रिक्वेन्सी भएसम्म दिने गरेको जानकारी दिनुभयो ।

रेडियो खोल्ने विषयमा सम्भावना वा आवश्यकताबारे अहिलेसम्म अध्ययन भएको छैन । एउटै सहरमा धेरै रेडियो खोल्नेभन्दा पनि आश्यकता र सम्भावना हेरेर फ्रिक्वेन्सी वितरण गर्ने गरी सञ्चार नीति ल्याउने योजना रहेको प्रवक्ता ढकालको भनाइ छ । अब बन्ने सञ्चारसम्बन्धी नीति नियम तथा ऐन÷कानुन ले रेडियोको सङ्ख्यालाई व्यवस्थित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Nepali Redio Radio Nepal

विशेष